बाँकेः जिल्लाका धार्मिक गुरूहरूले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गरेका छन्।
बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गरेका हुन्।
आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँग छलफल गरिएको थियो। प्रजिअ रमेशकुमार केसीको नेतृत्वमा भएको छलफलमा होली पर्वलाई धार्मिक तथा सामाजिक सद्भावयुक्त बनाउने सन्दर्भमा छलफल भएको थियो।
बैठकमा विशेषतः बाँके जिल्लामा मनाइने होली पर्व शुक्रबार परेको र शुक्रबार नै मुस्लिम धर्मावलम्बीको नमाज पढ्ने दिन भएकाले उच्च सतर्कता अपनाउनुपर्ने विषयमा छलफल गरिएको थियो।
यसैबीच, बुधबार बसेको बाँके जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाको सम्पूर्ण शान्ति सुरक्षा अवस्थाको समीक्षासमेत गरेको छ। प्रजिअ केसीको अध्यक्षतामा बसेको बैठकमा आज र भोलि मनाइने होलीमा कुनै व्यवधान आउन नदिन अपनाउनुपर्ने सुरक्षा रणनीति पनि तय गरेको प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले जानकारी दिए।