
काठमाडौं : त्रिभुवन आर्मीका होमलाल श्रेष्ठले लगातार दोस्रो पटक लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन्। बिहीवार लुम्बिनीमा भएको चौथो संस्करणको उपाधि जित्ने क्रममा होमलाल आर्मीकै हरीकुमार रिमाललाई १ मिनेट ४० सेकेण्डले पछि पारे।
होमलालले निर्धारित दूरी २ घण्टा ५३ मिनेट १३ सेकेण्डमा पुरा गरे। यस्तै दोस्रो भएका हरी कुमार रिमालले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा दौड पुरा गरे। तेस्रो बनेका आर्मीकै खगेन्द्र भाटले घण्टा ५७ मिनेट ३४ सेकेन्डको समयमा दुरी पुरा गरे।
लगातार दोस्रो पटक च्याम्पियन बनेका होमलालले उपाधिसँगै ‘लुम्बिनी अशोक पिस पुरस्कार’ स्वरूप नगद १ लाख प्राप्त गरे। यसैगरी दोस्रो भएका हरीले ‘कपिलवस्तु हुएन सान पुरस्कार’ स्वरूप ७५ हजार तथा तेस्रो भएका खगेन्द्रले ‘मायादेवी गार्डेन उत्त्थान पुरस्कार’ स्वरूप ५० हजार प्राप्त गरे।
म्याराथनमा विदेशी धावकसहित ३५ खेलाडीको सहभागिता रहेको थियो। जसमा ३ भिक्षुसहित १३ जना विदेशी धावकले प्रतिस्पर्धा गरेका थिए।
म्याराथन सिद्धार्थ गौतमले बुद्धको रुपमा आफ्नो जन्मभूमि फर्केर बाबु राजा शुद्धोधनलाई भेटेको स्थान कुदानबाट सुरु भई गोटिहवा, कपिलवस्तु, बाणगंगा, तिलौराकोट, निग्लिहवा, अरोरकोट र दोहनी हुँदै मायादेवी मन्दिरमा पुगेर सकिएको थियो।
यस्तै २१ किमिको हाफ म्याराथनको उपाधि भारतीय सेनामा कार्यरत तिर्थ पुनले जितेका छन्। लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा तिर्थले निर्धारित दुरी १ घण्टा ७ मिनेट ३५ सेकेन्डमा पुरा गरे।
आर्मीका राम जी बस्नेत १ घण्टा ७ मिनेट ५४ सेकेन्डमा दौड पुरा गर्दै दोस्रो भए भने तेस्रो भएका आर्मीका टिका राम कट्टेलले १ घण्टा ७ मिनेट ५८ सेकेन्डमा दौड सकाए।
हाफ म्याराथनमा च्याम्पियन बनेका तिर्थले ५० हजार, दोस्रो भएका राम जी ले ३० हजार तथा तेस्रो भएका टिकारामले २५ हजार हात पारे।
हाफ म्याराथनमा ७ विदेशीसहित ४५ खेलाडीले सहभागिता जनाएका थिए। हाफ म्याराथन मायादेवीको सुत्केरी मार्ग दोहनीबाट सुरु भई मायादेवी मन्दिरमै पुगेर समापन भएको थियो।
पाँच किमी दौडको उपाधि सुनिल थापाले जिते। उनले १७ मिनेट ५ सेकेण्डमा दौड पुरा गरे। १७ मिनेट ७ सेकेण्डमा दौड पुरा गर्दै संजय राई दोस्रो भए भने तेस्रो भएका सतेन्द्र यादवले १७ मिनेट २४ सेकेन्ड दौड पुरा गरे। विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार प्राप्त गरे।