मुस्ताङः मुस्ताङको कालीगण्डकी नदीमा अलपत्र परेको मोटरेबल पुल निर्माण कार्यलाई अघि बढाउन जनप्रतिनिधिले पहल थालेका छन्।
तिब्बतको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा निर्माणाधीन मोटरेबल पुल विगत दुई वर्षदेखि अलपत्र अवस्थामा छ। पुल निर्माणका क्रममा कालीगण्डकीको धार परिवर्तन भई बस्तीतर्फ कटान गर्न थालेपछि छुसाङका बासिन्दाले बस्ती संरक्षणबिना पुल निर्माण कार्यलाई अघि नबढाउन दबाब दिएका थिए।
मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले प्रभावित क्षेत्रका बासिन्दा, स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलीडार आयोजना र निर्माण व्यवसायीबीच सहमति कायम गरेर पुल निर्माण कार्यलाई अघि बढाउन पहल गरेका हुन्।
काठमाडौँस्थित डोलीडारको कार्यालयमा मंगलबार भएको छलफलमा पुल निर्माणसँगै बस्ती संरक्षणको पनि काम गर्ने सहमति भएको सांसद तुलाचनले बताए।
'कार्य क्षेत्रमा काम गर्ने वातावरण बनाएर पुल निर्माण कार्यलाई तीव्रता दिने सहमति भएको छ', सांसद तुलाचनले भने, 'यो पुल बनेपछि जोमसोम–कोरला सडकमा यातायात सेवा सहज हुन्छ ।'
डोलीडारमार्फत ७८ मिटर लम्बाइको मोटरेबल पुल निर्माणका लागि लुम्बिनी बिल्डर्ससँग चार करोड ७३ लाख ८८ हजार ६८ रूपैयाँमा २०७३ असार ११ गते ठेक्का सम्झौता भएको थियो।
पुल निर्माणका लागि तीन वटा पिल्लर ठडाउने काम सकिएको छ।
डोलीडारको स्थानीय पुल शाखाका प्रमुख माधव भट्टराईले ठेक्का सम्झौताको म्याद थप गरिने जानकारी दिए। बस्ती संरक्षण र पुलको चौडाइ बढाउने उनले बताए।
लुम्बिनी बिल्डर्सका कार्यकारी निर्देशक लङ्कबहादुर केसीले कार्यक्षेत्रमा सहज वातावरण बनेपछि जतिसक्दो छिटो पुल निर्माण सम्पन्न गर्न प्राथमिकता दिने बताए।
छुसाङमा मोटरेबल पुल नहुँदा हाल जोमसोमदेखि उपल्लो मुस्ताङ जाने आउने सर्वसाधारण, आन्तरिक तथा बाह्य पर्यटक, दैनिक उपभोग्य, खाद्यान्न, निर्माण सामग्री ढुवानीमा समस्या भएको छ।
कालीगण्डकी नदीबाट सवारी साधन तार्नुपर्ने अवस्था छ। मोटरेबल पुल बनेपछि जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा नियमित सवारी सञ्चालन भई आवतजावत र ढुवानीमा सहज हुने अपेक्षा गरिएको छ। रासस