PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

प्रेमी पाउन पतिको हत्या प्रयास : यसरी समातिइन् प्रियंका



राधेश्याम पटेल

प्रेमी पाउन पतिको हत्या प्रयास : यसरी समातिइन् प्रियंका

वीरगंज : पर्सा प्रहरीले वीरगंजमा भएको गोली प्रहार घटनामा संलग्न अभियुक्तहरु सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोली लागेर घाइते भएका विन्दवासिनी गाउँपालिका ३ स्थायी घर भइ वीरगंज १३ रानीघाटमा बस्दै आएका अरविन्द र भीम भन्ने उमेशप्रसाद चौरसियाकी २३ वर्षीया पत्नी प्रियंका, उनका 'प्रेमी' बिकेन्द्रकुमार गुप्ता, हत्याको सुपारी लिने २७ वर्षका मनोज गुप्ता र २५ वर्षीय सुटर मुन्ना साह रहेका छन्। 
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्‍यो। 


यसरी भएको थियो हत्या प्रयास 

३५ वर्षीय उमेशमाथि राति साढे ९ बजे ना ३४ प १०३ नम्बरको रातो रंगको प्यासन प्रो मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गरेका थिए। अनुसन्धानका क्रममा उमेशको हत्यामा उनकै पत्नी प्रियंकाको हात रहेको प्रहरीको दावी छ। प्रियंकाले प्रेमी बिकेन्द्रसँग मिलेर हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको हो। 

सुपारी लिने बारा, परवानीपुर गाउँपालिका वडा नं १ मुसहरीका २७ वर्षीय मनोज गुप्ता र सुटर वीरगंज १२ मुर्ली बस्ने वर्ष २४ का मुन्ना गोली प्रहार गरी रानीघाटको बाटो हुँदै भागेका थिए।

भारतीय महाबाणिज्य दूतावास उत्तरतिरको गेट नजिक लगाइएको सिसिटिभी क्यामेराले गर्दा घटना अनुसन्धान गर्न जम्मा ६ घण्टा लागेको पर्साका एसपी डाक्टर गणेश रेग्मीले बताए।

पत्नीले प्रेमीसँग मिलेर उमेशको हत्याका लागि २५ हजार रुपैयाँ बुझाएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ। दिएको रकममध्ये ११ हजारमा १२ बोरको एउटा पेस्तोल र एउटा भरुवा गोली किनेका थिए। 

पेस्तोल बेच्ने व्यक्तिको खोजी भइरहेको र चाँडै नै पक्राउ गरिने पर्सा प्रहरीले जनाएको छ। 
 

प्रेमीका लागि पतिको बलिदान प्रयास

चार वर्षअघि वीरगंजमा अनमी पढ्दै गर्दा बिकेन्द्र र प्रियंकाबीच प्रेम सम्बन्ध सुरु भएको थियो। प्रेम बिकेन्द्रसँग भए पनि बिहे उमेशसँग भएपछि उनीहरु उमेशको हत्या गरी बिहे गर्ने योजना बनाउँदै अपराध गर्न तयार भएका थिए। बिकेन्द्र अपोलो ट्रमा सेन्टरमा सिएमए पदमा कार्यरत छन्।

उमेश १० वर्ष देखि दुबईमा रहँदै आएका थिए। उनले हालै नेपाल आएर धागो व्यसाय सुरु गरेका थिए। प्रियंकासँग बिहे गरी ३ वर्ष दुबई बसेका थिए। त्यो समयमा प्रियंका र बिकेन्द्रबीच भेटघाट जारी थियो। 

हत्या गर्न प्रयास गरिएको उमेश र उनका भतिज दीपक चौरसिया बुधवार बुटवलबाट फर्किरहेका थिए। वीरगंजको पावरहाउसमा गाडीबाट झरेर पैदल घर पुग्नलाग्दा उनी माथि गोली प्रहार भएको हो। 

पावरहाउसबाट घर पुग्ने क्रममा प्रियंकाले उमेशसँग फोनमा गफ गरेकी  थिइन्। त्यहीबाट अभियुक्तलाई लोकेसनबारे जानकारी गराएकी थिइन्। प्रियंकाले औषधी ल्याउनु भन्दै अल्मल्याएर हत्याको प्लट तयार पारेकी थिइन् जुन सफल भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell