
काठमाडौँ : जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले अखिल नेपाल फुटबल संघ (एन्फा) मा विज्ञ चियाकी ताकेदालाई फुटबल सल्लाहकारको भूमिका निर्वाह गर्न एक वर्षका लागि नियुक्त गरेको छ।
चियाकी ताकेदा यसअघि एन्फामा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए। कार्यकाल सम्पन्न भएपछि उनलाई नै जाइकाले एक वर्षका लागि सल्लाहकारका रुपमा नियुक्त गरेको जनाएको छ।
जाइकाले खेलकूदको क्षेत्रमा विभिन्न देशमा सहयोग पुर्याउने हेतुले सो कार्य गरेको जाइकाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ। यस कार्यले जाइकाको प्राविधिक सहयोगअन्तर्गत आगामी दिनमा नेपालको फुटबलको समग्र विकासमा योगदान पुग्ने विश्वास लिइएको छ।
“विशेषज्ञ ताकेदाको सहयोगस्वरुप एन्फामा प्राविधिक शाखाको विकास गर्दै, एन्फाको संस्थागत क्षमता वृद्घि गर्नाका साथै प्रशिक्षक शिक्षा तथा क्षमता अभिवृद्घि गरी १४ वर्षमुनिका पुरुष तथा महिलाको फुटबल टोलीलाई प्रवद्र्धन गर्ने र नेपालमा फुटबलको विकास गर्नु हो”, विज्ञप्तिमा उल्लेख छ।
यसै वर्ष नेपाली फुटबल टोलीले जापानी विदेश मामिला मन्त्रालय तथा जापानी फुटबल संघको निमन्त्रणामा जापानको भ्रमण गरेको थियो। जापानी फुटबल संघले नेपाली फुटबल टोलीलाई मद्दत गर्दै आएको छ। हाल नेपालको राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक कोजी ग्योतुकु कार्यरत छन्।
एन्फाले जापान सरकारलाई जापानी फुटबल संघले प्रदान गरिरहेको सहयोग निरन्तरताका लागि आग्रह गरेको थियो। नेपाली फुटबलको क्षेत्रमा जापानी व्यवसायीको संलग्नता भएलगत्तै नेपालले एएफसी सोलिडारिटी कप–२०१६ मा जित हासिल गरेको थियो।