काठमाडौँः पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकान अब्बासी नेपाल अाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ बधार्इ दिनका लागि उनी नेपाल अाउन लागेका हुन्।
काठमाडौँ स्थित पाकिस्तानी दुतावासले प्रधानमन्त्री नेपाल अाउन लागेको पुष्टि गरेको छ। दुतावासका सञ्चार अधिकारीका अनुसार मिति तय भइसकेको छैन्। 'हामी नेपालको तर्फबट मिति र समयको कन्फर्मेशनको पर्खाइमा छौँ,' दुतावासका ती अधिकारीले पहिलो पोस्टसँग भने, 'हाम्रो तर्फबाट भ्रमणको तयारी भइरहेको छ हामीले सोमबारका लागि प्रस्ताव गरेका छौँ, नेपालको तर्फबाट अनुमति अाएपछि सार्वजनिक गर्ने छौँ। '
पाकिस्तानी प्रधानमन्त्रीले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री अोलीसहित शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने बताइएको छ।
यद्पी परराष्ट्र मन्त्रालयले भने पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणको विषयमा अाधिकारिक धारणा सार्वजनिक गरेको छैन्।
यसैबीच पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल बसार्इका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको शिखर सम्मेलन अायोजनाको विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ।
नेपाल सार्कको अध्यक्ष राष्ट्र हो। सन् २०१६ मा पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलन भारत सहभागि नहुने भएपछि स्थगित भएको छ।
अोली प्रधानमन्त्री भएपछि नेपाल भ्रमण गर्ने अब्बासी पहिलो विदेशी सरकार प्रमुख हुने छन्।
