
काठमाडौँ : जिल्ला अस्पताल हुम्लामा कार्यरत नर्स कमला शाहीमाथि होली खेल्ने क्रममा दुर्व्यवहार भएको छ। हिजो बिहीवार होली खेल्न भन्दै जबर्जस्ती अस्पताल प्रवेश गरेका युवाको समूहले उनीमाथि दूर्व्यवहार गरेको हो।
डाक्टर रन्जित कुमार यादवका अनुसार नर्सलाई जोगाउन पुगेका डाक्टर नविन रोकाया, हेल्थ असिस्टेन्ट लवि रावत तथा कार्यालय सहयोगी बुढे कामीलाई उनीहरुले आक्रमण पनि गरेका छन्। यादवका अनुसार कार्यलय सहयोगी बुढे कामी सोही अस्पतालमा उपचारत छन् भने अन्य डाक्टरहरुको अवस्था सामान्य छ।
डा यादवका अनुसार हिजो दिउँसो करीब तीन बजेतिर ७ जना केटाहरु आएर ड्युटीमा रहेकी नर्समाथि जबर्जस्ती लोला हानेका थिए। ‘नर्स शाहीले प्रतिवाद गर्दा उनको संवेदनशिल अंगहहरु छुने काम गरे। उनले रुदै डाक्टरलाई गुहारिन', यादवले भने, ‘गुहार मागेको सुन्नासाथ ड्युटीका डाक्टर रोकाया, हेल्थ असिस्टेन्ट रावल लगायत पुगेर केटाहरुलाई सम्झाए। ति केटाहरुले उल्टै डाक्टरुलाई कुटे।’
‘ड्युटीमा रहेको नर्सलाई किन जबर्जस्ती गरेको, बाहिर होली खेल्नु’ भन्दा ‘तँ को होस र आदेश दिने भन्दै’ केटाहरुले कुटेको यादवले बताए।
हेल्थ असिस्टेन्ट रावल, कार्यालय सहयोगी कामी र अस्पतालका प्रहरीलाई समेत चोट लागेको यादव बताउँछन्। रावललाई कुइनामा र हातमा, बुढे कामीलाई छातीमा असर गरेको यादवले बताए।
प्रहरीले कुटपिटमा संग्लग्न भएको भन्दै सुरेन्द्र लामा र कृष्ण गुरुङलाई समातेको छ भने अरु फरार रहेका छन्। यादबका अनुसार घटनाको बारेमा अहिले जिल्ला प्रशाशन कार्यलय हुम्लामा छलफल भइरहेको छ।