
काठमाडौं: पार्टी एकता गर्न बनेको नेकपा एमाले नेकपा माओवादी केन्द्रको कार्यदलले पार्टी एकताको प्राराम्भिक खाका तयार पार्ने काम भइरहेको जनाएको छ।
दलहरुका प्रतिवेदन, दस्तावेज लगायतका कागजातहरुको अध्यायनसँगै पार्टी एकताको खाका तयार पर्ने काममा कार्यदल जुटेको जनायो।
फागुन ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको लागि गृहकार्य गर्न दुई कार्यदल गठन गरेको थियो।
एमाले नेता माधवकुमार नेपालको नेतृत्वमा प्रतिवदेन मस्यौदा कार्यदल र माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलको नेतृत्वमा विधान मस्यौदा कार्यदल बनेको थियो।
विधान मस्यौदा समितिकमा रहेका नेकपा एमालेका नेता गोकर्ण बिष्टले पार्टी एकताको लागि खाका तयार पार्ने काम भैरहेको बताए।
पहिलो पोस्टसँग उनले भने, ‘विधानको विभिन्न पक्षहरुको अध्ययन गरी प्रतिवेदन लेखनको काम भइरहेको छ। २२ गते बस्ने कार्यदलको बैठकमा पार्टी विधानको प्रारारम्भिक खाका पेस गर्ने तयारीमा हामी जुटेका छौँ।’
उनले जनसंगठन एकताको नीति र विधि सम्बन्धी प्रस्ताव तयार हुने बताए। त्यसैगरी विष्टले पार्टी सञ्चालनको प्रक्रिया र पार्टीको संरचना समेटिएको विधान खाका तयार पार्ने काम भएको उल्लेख गरे।
दुबै पार्टीका दस्तावेजहरुको आधारमा पार्टीको विधान तयार पारिने र दुबै पार्टीका दस्तावेजका सकारात्मक कुरालाई समेटेर विधानको अन्तरिम मस्यौदा तयार पार्ने काम भइरहेको उनले बताए।
यता प्रतिवदेन मस्यौदा कार्यदलमा सम्मिलित नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि सामान्य खाका तयार पार्ने काममा कार्यदलले काम गरिरहेको बताए। उनले दलहरुका डकुमेन्टहरुको अध्ययन गरी सकेपछि विषयहरु बाँडेर प्रतिवेदन लेखनको काम भइरहेको बताए।
दुई दलका राजनीतिक सिद्धान्त २१ औं शताब्दीको जनवाद र बहुदलीय जनवादको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल चलिरहेको नेता पौडेलले बताए।
उनले भने, 'चुनावी घोषणा पत्र, फागुन ७ गते भएको सात बुँदे सहमति पत्र, पार्टी एकताको आवश्यकता, समाजवादमा पुग्ने गरी प्रारम्भिक खाका तयार पार्ने गरी काम हुँदैछ।'
नेता रामबहादुर थापा बादलको नेतृत्वमा विधान मस्यौदा कार्यदलले पार्टी विधानको खाका तयार पार्न दुई उप समिति गठन गरेर काम गरी रहेको छ।
फागुन २५ गते पार्टी एकताको प्रतिवेदन पेश गर्ने गरि पार्टी एकताको प्रतिवेदन तयार पार्न एकता संयोजन समितिले कार्यदललाई समय दिएको छ। चैत्र पहिलो साता पार्टी एकता गर्ने गरी पार्टी एकता संयोजन समितिले तयारी गरिरहेको छ।
माओवादी केन्द्रको केन्द्रीय समिति चार हजार सदस्यीय रहेको छ भने एमालेको दुई सय हाराहारीमा केन्द्रीय समिति रहेको छ।