PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

एन्फा निर्वाचन: गणेश थापा 'प्याक' सर्भिस गर्दै, कर्माछिरिङ कुन ड्याङको?



विष्णुहरि घिमिरे

एन्फा निर्वाचन: गणेश थापा 'प्याक' सर्भिस गर्दै, कर्माछिरिङ कुन ड्याङको?

थुप्रै अवगुण भए पनि अखिल नेपाल फुटबल संघ (एन्फा)का निलम्बित अध्यक्ष गणेश थापाको एउटा  राम्रो बानी छ, उनी ध्रूमपान र मध्यपान गर्दैनन। त्यसका साथै उनको अर्को विलक्षण क्षमता पनि छ, आफू मदिरा नपिए पनि, “जड्याँहरु” सँग उनी छर्लङ्ग रात बिताउन सक्छन्। आफू कफी पिउँदै अन्यलाई “प्याक” थपिदिन औधी हौसिन्छन्। सामान्यतय मदिरा पिउने र नपिउनेको कुरा मिल्दैन भन्ने गरिन्छ। 

यसबाट उनलाई दोहोरो फाइदा छ, पहिलो त “देख्यौ हाम्रो गणेश दाइ, कसरी साथ दिन्छन।” अर्को मानिसले दुइ स्थानमा सत्य बोल्छ, पहिलो उपचारको लागि डाक्टरकोमा जाँदा, दोस्रो मदिराले विस्तारै छोप्दै गर्दा। 

२०६२/०६३ को राजनैतिक परिवर्तनपछि, फुटबलमा पनि लोकतन्त्र माग्दै  भएको आन्दोलन उत्सर्गमा पुग्दै गर्दा गणेश थापा निकै हतास बनेका थिए। उनले खल्तीमा गुट्खाका पोका बोक्न थालेका थिए। मुलुकमा क्रान्तिको सपना बाँडेको नेकपा माओवादीले टेको नलगाइदिएको भए यो दश बर्षमा नेपाली फुटबलको कथा अर्कै हुने थियो। 

सार्वजनिक कार्यक्रममा पटकपटक गणेश थापाले दोहोर्याएका थिए, “फुटबलको नाममा मैले एक पैसा मात्र भ्रष्ट्राचार गरेको प्रमाणित भयो भने झुण्डिएर मर्छु।” तरररर ताली बज्थ्यो हलमा। 

बाग्मतीमा यो बीचमा धेरै पानी बग्यो। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले करोडौ रुपैयाँ भ्रष्ट्राचार गरेको र घुस खाएको भन्दै दश बर्ष प्रतिबन्ध गर्यो।  गत साताको पत्रकार सम्मेलनमा उनले  “त्यो एउटा सानो घटनाले” आफु फुटबलबाट बाहिर हुन परेको बताए। 

करोडौ भ्रष्ट्राचार गर्दा पनि गणेश थापालाई नेपालको कानुनले किन छुन सक्दैन त्यो बहसको दोस्रो पाटो हो। २४ घण्टा नै फुटबलका लागि “स्वयंसेवा” गरेको बताउने थापा र उनको परिवारको राजकीय जीवन शैलीको आम्दानीको स्रोत के हो ? राज्यका निकाय बेखवर नै छन्।
लाग्छ, नेपाली फुटबल गणेश थापा र उनको परिवारको पारिवारिक व्यापार व्यवसाय हो, जसरी हिजो राजा महाराजको बारेमा टीकाटिप्पणी गर्न मनाही थियो, गणेश थापाका बारेमा पनि त्यही नियम लागु हुने गरेको छ। 

देशको फुटबल बुझ्ने र विकासको गति नाप्ने भनेको लिग बाट हो।  तर गणेश थापाको कार्यकालमा हरेक सिजनका लिग प्रयोगमा बित्यो। थापाको बोली विना फुटबलमा हावासम्म नचल्ने अवस्था रह्यो। राष्ट्रिय टिमका खेलाडी खेल मिलोमतोका कारण प्रतिबन्धमा परे। २०–२२ बर्षको उमेरमा राष्ट्रिय टिमको जर्सी र बुट थन्काएर  अरबको बालुवामा पसिना साट्ने खेलाडीको संख्या उलेख्य छन्। 

१२ बर्षमा खोलो फर्किन्छ भन्ने उखान छ, तर लगभग २५ बर्ष पछि नेपाली फुटबललाई एक व्यक्तिको सनकका भरमा होइन विधि सम्वत चलाउन सकिन्छ भन्ने अवसर आएको छ।  हुन त तीन सय ६४ दिन गणेश थापाले नेपाली फुटबल डुवबयो भन्ने केही “भाइ” हरु एक रातमा परिवर्तन नभएको भए गत बर्ष पनि त्यो अवसर पाएको थियो नेपाली फुटबलले। 

कर्मा पनि उही ड्याङको


चैत १४ गते हुने एन्फाको निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान उपाध्यक्ष एव गणेश थापाका सालो मणी कुँवर र एन्फाका पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा प्रतिस्पर्धामा छन्। त्यसो त गएको एक बर्ष एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ भए पनि उनले आफू अध्यक्ष भएको अनुभुति गर्न पाएनन्।

भ्रष्ट्राचार प्रमाणित भएपछि तत्कालीन एन्फा अध्यक्ष गणेश थापा दश बर्षको प्रतिवन्धमा परे। थापाको कार्यकालको बाँकी एक बर्षको लागि भएको निर्वाचनमा नरेन्द्रले कर्मालाई नै हराएका थिए। 

नेपाली फुटबल एन्फा मुख्यालय सातदोबाटोबाट नभइ थापाको नीजि निवासबाट नै चल्यो। हुन पनि गणेश थापा कुनै पनि मुल्यमा नेपाली फुटबल आफ्नो मुठ्ठीबाट बाहिर जाओस भन्ने चाहादैनन। कर्मा आउनु भनेको फुटबलमा उनको शासन सकिनु हो। 

हुन त कर्मा छिरिङ आफै लगभग २२ बर्ष गणेश थापाकै उपाध्यक्ष भएर काम गरेका व्यक्ति हुन्। फुटबलमा उनको प्रवेश राजनीतिक रुपमा नै भएको हो। जसरी गणेश थापाले आफू खेलाडी हुँदै फुटबल नेतृत्वमा पुगेको बताउँदै आएका छन् त्यो छुट कर्मालाई छैन। नेपाल तरुण दलमा सक्रिय हुँदाहुँदै त्यही च्यानलबाट कर्मा  फुटबल  राजनीतिमा छिरेका हुन्।
 
यो बीचमा आफ्नै अग्रसरता र नेतृत्वमा दश बर्ष अगाडी हिमालयन शेर्पा क्लब खोलेका कर्माको अर्को सफल पाटो भनेको एन्फामा भएका अपचलनलाई अन्तराष्ट्रिय करण गर्ने आँट गरेकै हुन्। उनको विद्रोहले एन्फामा भएका अनियमिता राष्ट्रिय चर्चाको विषय बन्यो।  
 
कर्मा आएर पनि उस्तै हो भनरे निधार खुम्चाउने पनि भेटिएका छन्। हिजो गणेश थापाका निकै नजिक मानिएका अहिले कर्मा समूहमा जम्प गरेको भन्दै त्यसमा शंका गर्ने पनि देखिए।  तिनै मान्छे लिएर परिवर्तन कसरी भन्दै सामाजिक सञ्जालमा प्रश्न तेर्सिएका छन्। 

हालका लागि दुइमध्ये कम खराब नै रोज्ने हो तेस्रो विकल्प नेपाली फुटबल सँग छैन।  कर्माले जित्दैमा भत्किएको रंगशाला रातारात बन्ने होइन। नत नेपालले विश्व फुटबलमा तत्काल छलाङ नै मार्ने छ, तर एउटा कुरा पक्का हो, नेपाली फुटबलले पारिवारिक व्यवसायबाट छुटकारा पाउने छ, त्यो बाहेक कर्मा माथिको खबरदारी कायम नै राख्नु पर्छ। 

यो चुनाव कर्मा र मणी कुँवर बीचको भन्दा पनि एन्फालाई खेलकुदको एउटा संघको रुपमा चलाउने की पारिवारीक व्यापार व्यवसाय बनाउने भन्ने पनि हो।  एन्फा हुकुमी शैलीमा चलाउने कि विधि सम्मत भन्ने हो। 

नरेन्द्र श्रेष्ठ मिलनसार छन्, दुबै पक्षलाई मिलाएर लैजान्छन भन्दै गत बर्ष उनी प्रति आश गर्नेहरु पनि थिए। तर नरेन्द्र आफै “विचरा” देखिए।  पूर्व कार्यकारी निर्देशक इन्द्रमान तुलाधरले भन्ने गरेको एन्फा चलाउने अदृश्य शक्ति मै हुँ भन्दै गणेश थापा आफै सार्वजनिक भए। 

नेपाली फुटबलको भविश्य अब बाँकी रहेको यो तीन हप्तामा  मैदान बाहिर हुने खेलले निर्धारण गर्ने छ।  “मर्ता क्या नै कर्ता” भन्ने हिन्दी भनाइ सार्थक पार्न दुबै पक्ष लाग्ने छन्। जिल्ला र क्लबबाट मतदान अधिकार लिएका व्यक्ति नै हो  विवेक पुर्याउनु पर्ने। 

गणेश थापा फेरि पनि “प्याक” सर्भ गर्न आउने छन्, विदेश भ्रमण, छोराछोरी पठन पाठनको जिम्मा, बाटो खर्चको अफरसहित।  तपाइहरुको यो परीक्षा हो, नत्र पछुताउनु पर्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell