
काठमाडौं: नेपाल र पाकिस्तानबीच प्रधानमन्त्री स्तरीय द्वीपक्षीय छलफल हुने भएको छ। पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीका दुई दिने नेपाल भ्रमणको आधिकारिक जानकारी गराउँदै परराष्ट्र मन्त्रालयले यस्तो जानकारी गराएको हो ।
यसैबीच पाकिस्तान सरकारले प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण क्षेत्रीय राष्ट्रहरुसँगको सम्बन्धलाई सक्रिय पार्ने कडीको रुपमा रहेको बताएको छ। ‘प्रधानमन्त्री, शाहीद खाकन अब्बासी सोमबार दुई दिने नेपाल भ्रमणमा जानुहुने छ, यो भ्रमण पकिस्तानको क्षेत्रीय देशहरुसँगको सम्बन्धलाई निरन्तरता र अगाडि बढाउने सक्रिय प्रयासको एउटा हिस्सा हो,’ पाकिस्तान सरकारले सामाजिक सञ्जाजल ट्वीटरमा ट्वीट गर्दै भनेको छ।
यता परराष्ट्रमन्त्रालयले आइतबार मात्रै प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी प्रधानमन्त्रीबीच द्वीपक्षिय छलफल हुने मन्त्रालयले जानएको छ। द्वीपक्षीय भेटमा दुई देशबीचको आपसी सम्बन्धको र सहकार्य विस्तारका विषयमा छलफल हुने छ।
सोमबार नेपाल आउने पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार भेट गर्ने कार्यक्रम रहेको छ।