
काठमाडौं : पाकिस्तानी प्रधान मन्त्री शाहीद खाकन अब्बासी दुई दिने नेपाल भ्रमणका लागि सोमबार दिउँसो त्रिभुवन विमान स्थलमा ओर्लिँदै छन्।
उनको स्वागत नेपाल सरकारका एक जना मन्त्रीले त्रिभुवन विमानस्थलको अति विशिष्ठ कक्षमा गर्नेछन्। हालसम्म उनको स्वागतमा को मन्त्री जाने टुंगो भने नलागिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पाकिस्तानी प्रधान मन्त्री अब्बासीको नेपाल भ्रमणको तालिका पाकिस्तानी दूतावासलाई उपलब्ध गराएको छ। दूतावास स्रोतका अनुसार दिउँसो २ बजे नेपाल ओर्लिने प्रधान मन्त्री अब्बासीलाई सैनिक मञ्च टुँडिखेलमा अपराह्न ५ बजे 'गार्ड अफ अनर' दिइने छ। नेपाली सेनाको टुकडीले उनको सम्मानमा सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ।
यसअघि नेपाल आउने विदेशी विशिष्ठ पाउनका सम्मानमा त्रिभुवन विमानस्थलको अति विशिष्ठ कक्ष बाहिर गार्ड अफ अनर स्वरुप सलामी अर्पण गरिँदै आएको थियो।
नेपाल आउने पाहुनाको स्वागतमा नेपालबाट समान हैसियत भएका उच्च नेतृत्व विमानस्थलमा नै पुग्ने र सोही समय गार्ड अफ अनर प्रदान गरिँदै आएको थियो। यसपटक भने त्यो परम्परालाई परिवर्तन गरी विमानस्थलमा पाहुनाको स्वागतमा सवारी मन्त्री पठाउन लागिएको हो।
त्यस्तै सैनिक मञ्च टुँडिखेलमा सलामी अपर्णपछि बालुवाटारमा प्रधान मन्त्री केपी शर्मा ओलीसँग समकक्षी अब्बासीले भेट गर्ने कार्यक्रम रहेको छ। साँझ नै प्रधानमन्त्री ओलीले अब्बासीको सम्मानमा रात्रीभोज आयोजना गरेका छन्।
त्यस्तै मंगलबार बिहान ९ बजे पाकिस्तानी प्रधान मन्त्री अब्बासी शितल निवासमा पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।
पाकिस्तानी प्रधान मन्त्री मध्यान्न स्वदेश फर्किने कार्यक्रम रहेको काठमाडौँस्थित पाकिस्तानी दूतावासले जनाएको छ।