PahiloPost

May 14, 2024 | १ जेठ २०८१

पाकिस्तानी प्रधान मन्त्री अब्बासी ओर्लिए काठमाडौं: यस्तो छ भ्रमणभित्रको चीन - भारत ‘फ्याक्टर’



विधुर ढकाल

पाकिस्तानी प्रधान मन्त्री अब्बासी ओर्लिए काठमाडौं: यस्तो छ भ्रमणभित्रको चीन - भारत ‘फ्याक्टर’

काठमाडौं : पाकिस्तानी प्रधान मन्त्री शाहीद खाकन अब्बासी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं ओर्लिएका छन्। उनको यो नेपाल भ्रमणलाई लिएर कुटनीतिक रुपमा चर्चा सुरु भएको छ। 

नेपालमा वाम गठबन्धनको नेतृत्व गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधान मन्त्रीको रुपमा सपथ लिएको तीन साता पुग्नै लाग्दा बाहिरी रुपमा ओलीलाई बधाई दिन नेपाल आएका अब्बासीको नेपाल भ्रमणको भित्री अर्थका बारेमा कुटनीतिक रुपमा टिप्पणी सुरु भएको छ। 

पछिल्लो समय अन्तर्राष्ट्रिय रुपमा एक्लिँदै गएको पाकिस्तानका प्रधान मन्त्रीको नेपाल भ्रमणले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई कायम राख्ने प्रयासको रुपमा लिन सकिन्छ। 

पछिल्लो समय पाकिस्तानको सुरक्षा क्षेत्रमा अमेरिकाले दिँदै आएको सहायता रोक्ने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानमा भइरहेको लगानी खेर गएको बताएका थिए। उनले पाकिस्तानले नै आतंकवादलाई प्रश्रय दिइरहेको आरोप लगाएका थिए। 

सहायता निगारनीमा पाकिस्तानलाई राखेसँगै चीन, साउदी अरब र टर्कीले उसलाई साथ दिन थालेका छन्। त्यस्तै दक्षिण एसियाका मुलुकहरुको पाकिस्तानसँगको सम्बन्ध पनि भारतकै कारणले सहज छैन्। 

सन् २०१६ मा ईस्लामावादमा आयोजना हुने भनिएको १९ औँ सार्क शिखर सम्मेलनमा भारतले सहभागी नहुने बताएसँगै बंगलादेश, भूटान र मालदिभ्सले पनि हात झिकेका थिए। 

अफगानस्तानसँग पनि पाकिस्तानको राम्रो सम्बन्ध देखिँदैन। पाकिस्तानले आफ्नो देशका तालिवान विद्रोहीलाई सहयोग गरिरहेको आरोप अफगानस्तानले लगाउँदै आएको छ। पछिल्लो समय चीनले यी दुई देशबीचको सम्बन्ध सुधारको प्रयास गरिरहेको छ। दुई महिना पहिले चिनियाँ विदेशमन्त्रीले दुई देशका विदेशमन्त्रीलाई बेइजिङमा मिलाएका थिए। 

यस्तोमा दक्षिण एसियामा आफ्नो उपस्थिति जनाउनका लागि पाकिस्तानलाई नेपाल अर्को सहज मुलुकको रुपमा देखिएको छ। 

नेपाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को अध्यक्ष राष्ट्र हो। यस्तोमा आफ्नो देशमा हुने भनिएको सार्क सम्मेलन गर्न नेपालको पहलकदमीको आशा पाकिस्तानले लिएको देखिन्छ। उनको यो भ्रमण पनि त्यसैको कडीको रुपमा लिन सकिने परराष्ट्र मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ बताउँछन्।

विभाजनदेखि नै भारतसँग शत्रुतापूर्ण सम्बन्ध रहेको पाकिस्तानले अमेरिकीसाथ पनि गुमाउँदै जाँदा छिमेकी देशहरुसँगको सम्बन्धलाई अगाडि बढाउन चाहेको देखिन्छ। 

पाकिस्तान सरकारको आधिकारिक ट्वीटर एकाउन्टबाट प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणको जानकारी दिन गरिएको ट्वीटले पनि यसैलाई संकेत गरेको छ। 

पाकिस्तानले प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण क्षेत्रीय राष्ट्रहरुसँगको सम्बन्धलाई सक्रिय पार्ने कडीको रुपमा रहेको बताएको छ। ‘प्रधान मन्त्री, शाहीद खाकन अब्बासी सोमबार दुई दिने नेपाल भ्रमणमा जानुहुने छ, यो भ्रमण पकिस्तानको क्षेत्रीय देशहरुसँगको सम्बन्धलाई निरन्तरता र अगाडि बढाउने सक्रिय प्रयासको एउटा हिस्सा हो,’ ट्वीटमा भनिएको छ। 

अब्बासीको भ्रमणलाई कूटनीतिक जानकारहरूले दक्षिण एसियामा भू–राजनीतिक प्रभाव विस्तार गर्ने र कायम राख्न चाहनेहरुबीचको प्रतिस्पर्धाको एउटा कडीको रुपमा लिएका छन्। 

श्रेष्ठले यो भ्रमणले कुटनीतिक रुपमा दक्षिण एसियाको भू राजनीतिमा देखिएको प्रभावलाई स्पष्ट संकेत गरेको बताए।

पूर्वराजदूत डा. दिनेश भट्टराई भ्रमणमा दुईपक्षीय हितका विषयमा छलफल हुनेमात्र नभई क्षेत्रीयस्तरमा सबैलाई स्पष्ट पार्ने काम हुने बताउँछन्। सार्कलाई गति दिन आवश्यक भएको अवस्थामा यो भ्रमणलाई सकारात्मक लिन सकिने उनले बताए। 

नेपालको राजनीतिक इतिहासमा हालसम्म निर्वाचित प्रधानमन्त्रीलाई बधाई दिनकै लागि भनेर कुनै पनि मुलुकका प्रधानमन्त्री आएका छैनन्। ओलीलाई बधाई दिनकै लागि भनेर पाकिस्तानी प्रधान मन्त्रीले नेपाल भ्रमण गर्दै छन्। यसलाई कतिपयले चिनियाँ फ्याक्टरको रुपमा पनि चर्चा गरेका छन्। नेपालमा वाम गठबन्धनको निर्माण हुनसमेत चिनियाँ हात रहेको देख्ने भारतले उनको यो भ्रमणलाई समेत चिनियाँ फ्याक्टरको रुपमा नियाली रहेको देखिन्छ। 

पाकिस्तानको परम्परागत प्रतिद्वन्द्वी भारतले यसलाई भारतीय विश्लेषकहरुले पनि सोही रुपमा हेरेका छन्। 

भारतको द हिन्दु पत्रिकाकी कूटनीतिक सम्पादक सुहासीनी हैदरले सामाजिक सञ्जाल ट्विटरमा नेपालले पाकिस्तानी प्रधानमन्त्रीलाई पहिलोपटक स्वागत गर्न खोजेको भन्दै लेखेकी छन्, ‘पाकिस्तानी प्रधानमन्त्री अब्बासी प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल जाँदैछन् काठमाडौँले भारतलाई भन्दा पहिला निम्तो दिएको हो कि प्रधानमन्त्री मोदी जान नसकेका हुन्?’

यता पाकिस्तानी प्रधानमन्त्री अब्बासीको भ्रमणका क्रममा उठ्न सक्ने अर्को विषय भनेको २०१७ मा नेपालबाट वेपत्ता भएका पूर्व पाकिस्तानी सैन्य अधिकारीको खोजीसमेत हुन् सक्ने देखिन्छ। 

रुपन्देही लुम्विनीमा अन्तिम पटक देखिएका उनी भैरहवा क्षेत्रबाट वेपत्ता भएको पाकिस्तानले दाबी गर्दै आएको छ। उनलाई भारतले नियन्त्रणमा लिएको पाकिस्तानले आशंका व्यक्त गर्दै आएको छ। उनको अवस्थाका बारेमा पत्र लेख्दै पाकिस्तानले भारतलाई सोधेको थियो। 


भ्रमणको चीन–भारत फ्याक्टर 

पाकिस्तान र नेपाल चीनले अगाडि सारेको वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)को साझेदार राष्ट्र हुन्। पाकिस्तानले अर्बौँ डलरको लगानी गरिरहेको छ। पाकिस्तानलाई चीनसँग जोड्ने चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)मा चीनले ६२ विलियन अमेरिकी डलरको बराबरको लगानी गरिरहेको छ। 

विआरईमा नेपाल सहभागी हुँदै गर्दा सोही कोरिडोरको प्रयोग गरी नेपालले मध्य एसियाका देशहरुसँग व्यापार गर्न सक्ने बताइँदै आएको छ। नेपालमा वाम गठबन्धनको सरकार निर्माण भएसँगै चिनियाँ सक्रियता समेत बढ्दै गएको देखिन्छ। 

नेपालसँग मात्र नभई चिनियाँ प्रभाव पछिल्लो समय दक्षिण एसियामा बढ्दै गएको छ। पाकिस्तान र अफगानस्तान हुँदै चीनले भारतलाई सामुद्रिक क्षेत्रबाट पनि चेपुवामा पार्न थालेको छ। श्रीलंकाको हाम्बनटोटा बन्दरगाहा ९९ वर्षका लागि लिजमा लिएको छ। त्यस्तै मालदिभ्ससँग खुला व्यापार सम्झौता गरेको छ। 

यस्तो अवस्थामा चीननिकट मानिएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपालमा चीन निकट मानिएका ओली प्रधानमन्त्री हुँदा बधाई दिन आउनुलाई चिनियाँ फ्याक्टरको रुपमा समेत लिन सकिन्छ। 

तर पनि त्यतिले मात्र पाकिस्तानी प्रधानमन्त्रीलाई नेपाल तानेको भने होइन्। नेपालमा भारत विरोधी छवि बनाएका ओलीलाई शुभकामना दिन पहिलो पटक अब्बासी नेपाल आउँदै छन्। 

पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएसँगै ४५ दिनका लागि प्रधानमन्त्री बनेका अब्बासी सुरुदेखि नै राष्ट्रवादी नेताको रुपमा चिनिँदै आएका छन्। भारतले नेपालमा नाकाबन्दी लगाउँदा चीनसँग सम्झौता  गर्दै भारतीय नाकाबन्दीबाट नझुकेका ओलीलेसमेत राष्ट्रवादी छवि बनाएका थिए। 

त्यही छविले पनि भारत विराधी देखिँदा ओलीसँग पाकिस्तानी प्रधानमन्त्रीको ‘सेन्टिमेन्ट’ मिल्न गएको हुन सक्छ। परम्परागत विरोधी भारतका विरोधी नेतासँगको सम्बन्ध सुधारले पाकिस्तानले सार्क सम्मेलन आयोजनाका लागि भारतलाई दबाब दिन सकिन्छ की भन्ने सोचेको हुन सक्छ। 

पाकिस्तानको परराष्ट्र मन्त्रालयले समेत यसलाई संकेत गरेको छ। अब्बासीको नेपाल भ्रमण रोकिएको सार्क प्रक्रियालाई गति दिने कडीको रुपमा पाकिस्तानको परराष्ट्र मन्त्रालयले लिएको छ। 

नेपालका लागि अवसर

अघिल्लो पटक केपी ओली प्रधानमन्त्री हुँदा भारतसँगको सम्बन्ध चिसिएको थियो। हाल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ओलीसँगको सम्बन्धलाई सुधार गरी आपसी सम्बन्धलाई प्रगाढ बनाउँदै नयाँ सरकारसँग साझेदारी गरेर अगाडि बढ्ने बताउँदै आएका छन्। 

पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण नेपालका लागि अवसर हो। पाकिस्तानसँग नेपालको कुटनीतिक सम्बन्ध तत्कालीन राजा महेन्द्रको पाला देखि प्रगाढ बनेको थियो। यो सम्बन्धलाई थप प्रगाढ बनाउने अवसर प्रधानमन्त्री ओलीलाई प्राप्त भएको छ। 

अब्बासीको यो भ्रमण सन् २०१४ पछि पाकिस्तानबाट हुन लागेको पहिलो उच्च स्तरीय भ्रमण हो। सन् २०१४ मा काठमाडौँमा आयोजित सार्क शिखर सम्मेलनमा सहभागी हुन तत्कालीन प्रधानमन्त्री नवाज सरिफ नेपाल आएका थिए। 

उनको यो भ्रमण सुरक्षित र सफल गराउन नेपालले सक्यो भने, विदेशी राष्ट्र प्रमुखको सुरक्षा स्वागत गर्न नेपाल सक्षम छ भनेर प्रमाणित गर्ने मौका पनि नेपालको लागि हुन् सक्छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell