काठमाडौं: संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभाको पहिलो अभ्यास आजदेखि शुरु भएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गर्यो।
बैठकले राष्ट्रियसभाको अध्यक्षको अनुपस्थितिमा वैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालीबहादुर मल्ललाई मनोनयन गरेको छ।
अपराह्न ४. २३ बजे शुरु भएको उक्त बैठकको प्रारम्भमा अध्यक्ष भट्टले पहिलो बैठकमा सहभागी सदस्यलाई स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरे। त्यसलगत्तै अध्यक्ष भट्टले राष्ट्रपतिबाट संघीय संसद्को बैठक आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाएकी थिइन्।
राष्ट्रपति कार्यालयको पत्र वाचनपछि बैठकले लोकतन्त्र र प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदप्रति सम्मान व्यक्त गर्न दुई मिनेट मौन धारणा गर्यो। त्यसपछि अध्यक्ष भट्टले मन्त्रिपरिषद् विस्तारसम्बन्धी विभिन्न मितिमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो।
त्यसपछि बैठकले राष्ट्रियसभा कार्यसञ्चालन नियमावली तयार नहुन्जेल बैठकको कार्यसञ्चालनका लागि अध्यक्ष भट्टले प्रस्तुत गरेको राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतिले अनुमोदन गर्यो। नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था छ।
उनन्साठी सदस्यीय राष्ट्रियसभामा मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था छ।
सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीनसदस्यलाई भने सर्वोच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि शपथ हाल रोकिएको छ। अहिले राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२ तथा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी पार्टी नेपालका दुई दुई जना सदस्यको प्रतिनिधित्व छ।
राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व छ। छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाइको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ। प्रतिनिधिसभाबाट गएको अर्थ विधेयक १५ तथा अरु विधेयक दुई महिनाभित्र पारित गरी वा सुझावसहित फिर्ता पठाउनुपर्ने राष्ट्रियसभाको दायित्व हुनेछ।
राष्ट्रियसभा स्थायी प्रकृतिको सदन हो। राष्ट्रियसभाको बैठक प्रारम्भ भएको १५ दिनभित्र अध्यक्षको निर्वाचन गर्नुपर्ने सवैधानिक व्यवस्था छ। राष्ट्रियसभाको अर्को बैठक यही फागुन २२ गते बिहान ११ बजे बस्नेछ। रासस
