काठमाडौँ : गत साता नेत्र विक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आह्वान गर्यो। यातायात अवरुद्ध भएन तर स्कुल र कलेज खुलेनन्। बन्दको दिनको ट्राफिक जाम बन्द विरोधी अभिव्यक्ति थियो। तर, पनि बिप्लवको 'मिसन’ सफल बन्यो शिक्षा क्षेत्र ठप्प हुँदा।
गत आइतबार त्यसकै सिक्वेल देखियो- शैक्षिक हड्तालको नाममा। फेसबुकमै लेखेको भरमा शैक्षिक संस्था ठप्प। निजी तथा सरकारी सबैतिर असर देखियो।
हड्तालको अर्थ-राजनीति?
बिप्लव कहिले उद्योगमा ताला लगाउँछन्। कहिले नेपाल बन्द गर्छन्। सलमान खानको कार्यक्रम भाड्छु भन्दै अभिव्यक्ति दिन पनि पछि हट्दैनन्। शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइलाई मान्ने हो भने यतिबेला मौसमी बन्दको व्यापार शैक्षिक क्षेत्रमा जोडिएको छ। भर्नाको मौसम चल्दै गर्दा बिप्लवको ‘टार्गेट’मा परेको छ शैक्षिक क्षेत्र। हिजोको शैक्षिक हड्ताल त्यसको पछिल्लो उदाहरण।
विगत ३ वर्षमा भएका अधिकांश हड्ताल भर्ना हुने समयमै भएको देखिछ। यसअर्थमा पनि कोइरालाले भनेजस्तै अहिलेको हड्ताल कुनै राजनीतिक एजेण्डासँग भन्दा पनि चन्दासँग जोडिएको प्रष्ट हुन्छ।
‘शैक्षिक हड्ताल मुख्य कनेक्सन चन्दासँग जोडिएको छ। देखाइएका अन्य पाटा सबै भ्रम हुन्,’ कोइराला भन्छन्, ‘यो हड्ताल तागत देखाएर पैसा असुल्ने हतियार हो। नत्र किन भर्नाको समयमा शैक्षिक क्षेत्रमा नै हड्ताल गर्नुपर्थ्यो।’
शैक्षिक क्षेत्रमा हड्ताल गर्दा अभिभावकको ध्यानाकर्षण हुने बताउँछन् कोइराला। बच्चा दुर्घटनामा पर्ने ‘रिस्क’ले प्राय अभिभावक बच्चालाई स्कुल पठाउँदैनन्। सोही कारण उनीहरुलाई ब्ल्याकमेल गर्न सजिलो हुने कोइरालाको कथन छ। भन्छन्, ‘नेपालमा हड्ताल गरेर विद्यार्थीहरु विदेश पढ्न जान बाध्य पार्छन्। यता ब्ल्याकमेल गरेर चन्दा असुल्छन्। उनीहरुलाई दुवै हातमा लड्डु छ। मार्का पर्ने अभिभावकलाई हो।’
राजनीतिक दलको ठूला नेताहरुलाई भेला गरेर ‘विद्यालय शान्ति क्षेत्र हो’ भनेर पढाउने पर्ने आवश्यक देख्छन् कोइराला। सरकारमै रहेका दलले यस्तालाई प्रश्रय दिइरहेको उनको तर्क छ। यस्तो अपराधमा कर्ममा सबै दल संग्लग्न रहेको सुनाउँछन् उनी।
‘लौ तिमीहरुको क्रान्तिकारी सरकार देशमा आयो भने भोलि स्कुललाई के गर्छौँ?' कोइरालाको प्रश्न, 'तिमीहरुको सरकारको विरुद्द कसैले स्कुल बन्द गर्योो भने के गर्छौ?’
+++
समाजशास्त्री दीपेश घिमिरे यस विषयमा एउटा पार्टीलाई मात्र आरोप लगाउनु न्यायसंगत नभएको बताउँछन्। केही वर्षअघिको 'ट्रेण्ड एनालाइसिस' हेर्दा सबै पार्टीले हड्ताल मार्फत् 'ब्ल्याकमेलिङ' गरेको तथ्य घाम जतिकै छर्लङ्ग रहेको सुनाउँछन्। भन्छन्, 'भर्नाको समयमा फि बढी भयो भनेर हड्ताल गर्दा 'पोलिटिकल माइलेज' लिन राम्रो हुने उनीहरुको बुझाई छ। तर, उनीहरुको उद्देश्य चन्दासँग मात्र जोडिएको हुन्छ।'
+++
बन्दलाई अपराध मान्छन् उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ। भन्छन्, ‘अन्य ठाउँमा हड्ताल गरे पनि शैक्षिक क्षेत्रमा हड्ताल गर्न नपाइने कानुन छ। बच्चाहरुको पढ्न पाउने अधिकार खोसिएको छ। यो सरासर अपराध नै हो।’
भर्ना हुने समयमा भएको हड्ताल पैसा असुल्ने 'नियत' बाहेक केही नभएको बताउँछन् उनी। भन्छन्, ‘स्कुल कलेजका सञ्चालक बिप्लवले फेसबुकमै लेखेको भरमा बन्द गर्छन्। डरकै कारण चन्दा दिन बाध्य हुन्छन्। त्यही चन्दा शैक्षिक संस्थाले अभिभावकबाट उठाउँछन्। जताबाट पनि मारमा अभिभावक नै पर्छन्।’
+++
यस्तो बन्दको असर के त?
समाजशास्त्री घिमिरेका अनुसार शैक्षिक हड्तालका प्रत्यक्ष तथा अप्रत्यक्ष धेरै असर छन।
प्रत्यक्ष असर– एउटा पार्टीलाई चन्दा दियो अर्को नि माग्न आउँछ। त्यसो गर्दा शुल्क बढ्छ।
अप्रत्यक्ष भन्दा प्रत्यक्ष असर धेरै रहेको सुनाउँछन घिमिरे। उनका अनुसार प्रायजसो धनाढ्य वर्ग 'नेपालमा बन्द हड्ताल हुन्छ, नियमित पढाइ हुन्न। धेरै बिदा हुन्छ, पढाइ राम्रो हुन्न। यहीको खर्चमा विदेशमै पढ्न सकिन्छ' भनेर विदेशमा पढ्न जान्छन्। सोही कारण ठूलो रकम विदेश जान्छ। घिमिरेले भने, 'शिक्षाका लागि गएको रकम यही खर्च हुने हो भने देश ठूलो आर्थिक भारबाट जोगिन्थ्यो। तर, देशमा यस्तै कारणले धेरै नेपालीहरु विदेश गएर पढ्न रुचाउँछन्।'
यस्ता हड्तालको प्रभाव सरकारीमा भन्दा निजी कलेजमा बढी पर्छ। भन्छन्, 'सरकारी कलेजमा पैसा हुन्न बन्दको प्रभाव पर्दैन। निजी कलेजमा पैसा हुन्छ त्यहाँ बन्दको प्रभाव बढ्छ। अहिले शैक्षिक क्षेत्र व्यापारीलाई व्यापार गर्ने थलो मात्र हैन पार्टीहरुलाई चन्दा उठाउने थलोको रुपमा सावित भएको छ।'
मनोचिकित्सक पवन शर्मा बन्द हड्तालले बालबालिकाको मनोविज्ञानमा धेरै प्रभाव पार्ने सुनाउँछन्। पढाइ बिग्रने, स्कुल जाने बानी छुट्ने, पछि स्कुल जान मन नगर्ने सामान्य प्रभाव रहेको शर्माको कथन छ। बच्चाहरुलाई शैक्षिक हड्तालको बारेमा अभिभावले कसरी प्रस्तुत गर्छन्, असर त्यसमा भर पर्ने शर्माको तर्क छ। भन्छन्, ‘हड्तालमा स्कुल जाँदा बम पड्किन्छ। आगलागी हुन्छ भन्यो भने बच्चाहरु तर्सिन्छन्। मानसिक रुपमा उनीहरुलाई पछिसम्म असर पर्छ। अन्य कारणले स्कुल बिदा हुँदा पनि डराउने हुन्छ।’
+++
शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरिप्रसाद लम्साल हालैको शैक्षिक हड्तालको माग थाहै नपाएको बताउँछन्। हड्ताल भइसकेपछि थाहा पाए पनि हड्ताल किन भयो जानकारी नै नहुने उनको बुझाई छ। भन्छन्, ‘शैक्षिक क्षेत्रमा हड्ताल हुनु आफैमा नराम्रो काम हो। हामीले हड्ताल हुनुहुन्न भनेका छौँ। एक्यबद्धता जनाएका छौँ। यति गर्दा गर्दै पनि हुन्छ। हामीले गर्न सक्ने पनि केही छैन।’
यस्ता हड्तालले शिक्षामा देशले धेरै गुमाइरहेको बताउँछन् लम्साल। ‘उनीहरुको नियत र उद्देश्य जे भए पनि देश शिक्षामा धेरै पछाडि धकेलिन्छ,’ भन्छन्, ‘उनीहरुले हड्तालले गरेर के पाउँछन् उनीहरु नै जानुन्। तर देशले धेरै गुमाउँछ। अब हाम्रो प्रयास असफल हुन्छ। दोष कसलाई दिने?'