
रोल्पाः शिक्षा क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी गरेको भए पनि रोल्पाको एक गाउँपालिकामा भने मावि शिक्षकको शून्य दरबन्दी रहेको छ।
सरकारी दरबन्दी शून्य रहँदा त्यहाँका अभिभावक चन्दा उठाएर माध्यमिक तहको पठनपाठन गर्न बाध्य भएका छन्। पूर्वी रोल्पाको सुनछहरी गाँउपालिकामा मावि शिक्षकका लागि हालसम्म कुनै दरबन्दी छैन।
पाँचवटा माध्यमिक विद्यालय रहेको गाँउपालिकामा माध्यामिक तहको शिक्षा स्थानीय बासिन्दाले चन्दा उठाएर निजि स्रोतबाट राखिएका शिक्षकले दिँदै आएका छन्।
विगत लामो समयदेखि अभिभावकको आर्थिक सहयोगबाट चल्नु पर्दा शैक्षिक उपलब्धिसमेत अपेक्षाकृत राम्रो हुन सकेको छैन।
जिल्लामा रहेका १० स्थानीय तहमध्ये सबभन्दा विकट मानिने सो गाउँपालिकामा साविकका जेल्वाङ, फगाम, जैमाकसला, स्युरी, सेरम र गाम गाविसहरु गाभिएका छन्।
सरकारी दरबन्दी नहुँदा स्थानीय आर्थिक सहयोग संकलन गरेर शिक्षकको तलब व्यवस्थापन गर्न बाध्य भएका छन्।
माध्यमिक शिक्षालाई सरकारले निःशुल्क तथा अनिवार्य भने पनि सोहीअनुसारको लगानी गर्न नसकेकोप्रति अभिभावकले असन्तुष्टि व्यक्त गरेका छन्। सरकारले दरबन्दी नदिँदा आफूहरु चन्दा उठाएर विद्यालय सञ्चालन गर्न बाध्य भएको उनीहरुले गुनासो गरेका छन्।
शुरुवातमा चन्दा तथा अन्य सहयोग उठाएर माध्यमिक तहको पठनपाठन सञ्चालन गरे पनि राज्यले लामो समयसम्म दरबन्दी उपलब्ध नगराउँदा आफूहरुलाई विद्यालय सञ्चालनमा समस्या आइरहेको रोल्वाङ मावि, जेल्वाङ, रोल्पाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर बुढाले बताए।
तत्कालका लागि करार तथा राहत दरबन्दीमा भए पनि माध्यमिक तहको सरकारी दरबन्दी व्यवस्थापन गर्नुपर्ने उनले माग गरे।
सरकारी दरबन्दी अपुग भएका कारण अभिभावकले हाल सुनछहरी गाउँपालिकाभित्र ९५ जना निजी स्रोतमा शिक्षक व्यवस्थापन गरिरहेको गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनमगरले जानकारी दिए।
निःशुल्क शिक्षा भनिए पनि अभिभावकलाई आर्थिक भार कम भएको नभएको उनले बताए।
निजी स्रोतमा राखिएका शिक्षक लामो समयसम्म नटिक्ने भएका कारण आफूहरुको पढाइमा समेत असर गरिरहेको मावि जेल्वाङका विद्यार्थी सन्तोष विकको गुनासो छ।
शिक्षक फेरवदल भइरहँदा त्यसले विद्यार्थीको पठनपाठनमा समेत प्रभाव पारेको उनले बताए। अन्य विषय तल्ला तहका शिक्षकले समेत अध्यापन गर्ने भए पनि अंग्रेजी, विज्ञान, गणितजस्ता विषय अध्यापनका लागि सम्बन्धित विषयका शिक्षक व्यवस्था गर्नुपर्ने भएकाले उनीहरुको तलब सुविधा समेत धेरै हुँदा अभिभावकलाई मार पर्दै आएका छन्।
जिल्लामा छ दर्जनभन्दा बढी मावि रहेका छन्। माविमा अध्यापन गर्ने ४५ स्थायी र १८ अस्थायी गरी ६३ दरबन्दी रहेको छ। रासस