काठमाडौँः नेपालको दुर्इ दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकन अब्बासी र नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।
पाकिस्तानका प्रधानमन्त्री अब्बासीलार्इ भेट्न मंगलबार विहान प्रण्डसहित माअोवादी केन्द्रका नेताहरू अब्बासी बसेको होटेल हयात पुगेका थिए।
भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको बताएका छन्।
पाकिस्तानका प्रधानमन्त्री नेतृत्वको टोली र माअोवादी केन्द्रका नेताहरूबीच करिब ४५ मिनेट भएको भेटवार्ता भएको थियो। भेटवार्तामा दुर्इ देशको आर्थिक एवं व्यापारका क्षेत्रमा साझेदारी गरेर अगाडि बढ्ने विषयमा छलफल भएको प्रचण्डले जानकारी दिए।
पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डसँग भएको छलफलमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई गतिशील बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए।
भेटका अवसरमा नेपाल भ्रमणमा आएकोमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले पाकिस्तानले नेपालको शान्ति प्रक्रिया, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गरेको भन्दै धन्यवाद दिएका थिए।
उनले नेपालले सफलतापूर्वक संघीय संरचना अन्तर्गतका सबै तहको निर्वाचन सम्पन्न गरेको बताउँदै अबको प्राथमिकता स्थायित्व, सुशासन, विकास र समृद्धि हासिल गर्ने रहेको बताएका थिए। प्रचण्डले पाकिस्तानका प्रधानमन्त्री अब्बासीसँग नेपालको समृद्धि हासिल गर्ने प्रक्रियामा पाकिस्तानबाट विगतमा पाए जस्तै सहयोगको अपेक्षा राखेका थिए।
भेटका अवसरमा दक्षिण एशियामा शान्ति, स्थायित्व र समृद्धिका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महत्वपूर्ण भूमिका बताँदै सार्कले क्षेत्रीयस्तरमा व्यापार, लगानी, पर्यटन तथा कनेक्टिभिटी जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ।
नेपालले सबैखाले आतंकवादको बिरोध गर्दै आएको बताउँदै अध्यक्ष प्रचण्डले आतंकवाद, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, लागु औषधको तस्करी, क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासका मुद्दामा दुबै देशबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरेका थिए।
भेटका अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल पाकिस्तानको असल छिमेकी रहेको बताउँदै निर्वाचन सम्पन्न भएकोमा बधाई दिएका थिए। उनले नेपालको भविष्य निकै उज्वल रहेको भन्दै समृद्धिका लागि शुभकामना दिएको प्रचण्डको सचिवालयले जनाएको छ।
दक्षिण एशियामा शान्ति, समृद्धिका पक्षमा पाकिस्तान र नेपालले भूमिका खेल्दै आएको भन्दै पाकिस्तानका प्रधानमन्त्री अब्बासीले पाकिस्तानमा प्राविधिक शिक्षा पढ्न नेपाली विद्यार्थीहरुका लागि कोटा दोब्बर गरिएको जानकारी गराएका थिए। प्रधानमन्त्री अब्बासीले व्यापार, पर्यटनलगायतका क्षेत्रमा समेत थप सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए।
अहिले पाकिस्तानको मुख्य चुनौती आतंकवाद रहेको चर्चा गर्दै प्रधानमन्त्री अब्बासीले आतंकवाद दक्षिण एशियाका साझा शत्रु भएको बताएका थिए।
बैठकमा अध्यक्ष प्रचण्डसहित माओवादी केन्द्रका नेता एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा तथा जोखबहादुर महराको सहभागिता र पाकिस्तानको तर्फबाट प्रधानमन्त्री अब्बासीसहित नेपालका लागि पाकिस्तानका राजदुत मजहर जावेदसहितका पाकिस्तानी अधिकारीहरूको सहभागिता रहेको थियो।
पाकिस्तानी प्रधानमन्त्री अब्बासीले अाजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा पुगेर शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ।
अब्बासी अाजै दुर्इ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किँदै छन्।