
काठमाडौं: गायन करियरले २५ वर्ष पुरा भएको अवसरमा गायिका रेखा शाहले एकल गायन कार्यक्रममा प्रस्तुति दिने भएकी छिन्। उनको पहिलो एकल गायन कार्यक्रम यही फागुन २४ गते विहीबार हुने भएको हो।
अन्तर्राष्ट्रिय नारी दिवसका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा कार्यक्रममा सम्पन्न हुनेछ।
‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ गीत लेखन, संगीत तथा गायनबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी गायिका रेखा शाहकै सामाजिक संस्था ‘रेखा शाह फाउन्डेसन’ले कार्यक्रम आयोजना गर्न लागेको हो।
शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी रेखाको द लाइन, आकृति, स्मृतिजस्ता एल्बमहरु सार्वजनिक गरेकी छिन्। उनका ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्की आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखुँ“ भने’ लगायतका गीत चर्चित छन्।
विहीबारको एकल गायन कार्यक्रममा गायिका शाहले आफ्नासहित अन्य अग्रज स्रष्टाका करिब डेढ दर्जन गीत प्रस्तुत गर्ने छिन्। कार्यक्रममा उनले शान्ति ठटाल, डेजी बराइली, अरुणा लामा, नारायण गोपाल, तारादेवी, सरोज गोपाललगायतका गायक गायिकाका कालजयी गीत गायनमा द लिजेन्ड व्यान्डले वाद्यवादनमा साथ दिनेछ भने युगल गायनमा सुरजकुमार थापाले साथ दिनेछन्।
आर्थिक अवस्था कमजोर भएका बालबालिकाको शिक्षा दीक्षामा सहयोग गर्दै आइरहेको उनको फाउन्डेसनले सोही दिन राष्ट्र र समाजको उन्नयनमा योगदान दिँदै आइरहेका विभिन्न क्षेत्रका आधा दर्जन नारीहरुलाई नगद र ताम्रपत्रले सम्मानसमेत गर्नेछ।