
काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन ठुलो बनाएर काम गर्न सुझाव दिएका छन्। संघीय संसदलाई हिन्दीमा सम्बोधन गर्दै महतोले भने, 'प्रधानमन्त्रीजी, जनताने वाम गठबन्धनको बडा दल बनादिय, अपने भी दिल बडा किजिए।’
महतोले अब नयाँ इतिहास रच्नका लागि पुरानो सोच र पुरानो मानसिकता त्याग्नु पर्ने बताए। त्यसैगरी उनले एकले अर्कोको मान र सम्मान गर्नु पर्ने बताए छन्। महतोले भने, 'हिमाल पहाडी र तराई सवैलाई आफ्नो सम्झिए मात्र नयाँ नेपाल बन्छ।'
सबैको भावनालाई समेटेर अगाडि बढ्न उनले प्रधानमन्त्रीलाई सुझाव दिएका छन्। आफु मधेशी भएको गर्भ भएको तर यही बिषयमा कसैले चोट पुर्याएमा दुःख हुने बताए।
कसैको पहिचान स्वीकार नगर्दा सम्म आन्दोलन चलिरहने भएकाले सवैको पहिचान समेट्नु पर्ने बताए। संविधान संशोधन गर्न सुझाव दिँदै महतोले भने, ‘संविधान कुनै बाइबल, कुरान नभएकोले संशोधन गर्न नमिल्ने दस्तावेज हैन।'
उनले संविधान निर्माणमा यसअघि ठुला तीन दलले गरेका सम्झौताहरु रद्दीको टोकरीमा फालेको आरोप लगाए। 'संविधानसभामा हामी करायौ, यसअघि भएका सम्झौता कार्यान्वन गर,' उनले भने, 'संविधान निर्माण गर्दै गर्दा हामीसँग भएका सम्झौता रद्दीको टोकरीमा फालियो।'
मधेसी जनतासँग झुटा सम्झौता नगर्न उनले चेतावनीसमेत दिए।