काठमाडौः सामाजिक सञ्जाल फेसबुककै कारण एक किशोरको ज्यान गएको छ। गोंगबुको गणेश हिमाल विद्यालयमा कक्षा १० मा पढ्ने कुमार सुचिकारको ज्यान फेसबुक ग्रुप सम्बन्धी विवादका कारण ज्यान गएको हो।
प्रहरीले हत्यामा संलग्न आठजनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।
पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने १६ वर्षका विक्की पुतवार, १७ वर्षका समिर महर्जन, आइसिङ तामाङ, विशाल पुतवार, दिनेश नगरकोटी, निर्मल महर्जन, राजन मगर र पेमा शेर्पा रहेका छन्।
फेसबुक च्याट ग्रुप, ब्लक अनि हत्या
मृतक सुचिकार र हत्या गर्ने अभियुक्तबीच फेसबुकमा चिनजान भएको थियो। सुचिकारले फेसबुकमा गुहेश्वरी च्याट ग्रुप बनाएका थिए। उनले च्याटमा चिनेका तथा नचिनेका साथीलाई एड गर्ने गर्थे। फेसबुक एड भएका विक्कीलाई मृतक कुमारले ब्लक गरेका थिए।
यही विषयलाई लिएर दुईबीच मनमुटाव शुरु भएको डिएसपी थापाले बताए। उनले भने, 'फेसबुक ग्रुपमा रहेका आठ जनाले एकले अर्कोलाई ब्लक गर्न थाले यही विषयमा झगडा शुरु भयो।'
गत माघ २६ गते साँझ साढे ६ बजे कुमारलाई एक युवतीले भेट्न भन्दै तारकेश्वर नगरपालिकाको फुलबारी गेट गोलढुङ्गामा बोलाइन्। कुमार महिलालाई भेट्न जाँदा त्यहाँ महिला नभएर आठ जना फेसबुकमा चिनजान भएका साथीहरु थिए।
भेट्ने बित्तिकै उनीहरुबीच फेसबुक ब्लकको विषयमा नै विवाद शुरु भयो। विवादकै क्रममा विक्कीले कुमारलाई ईंट्टाले टाउकोमा हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी थापाले जानकारी दिए।
हत्यापछि बिक्कीले कुमारको मोबाइल आफैसँग लगेका थिए। कुमारले प्रयोग गर्ने मोबाइलको आधारमा हत्याराको पहिचान गरेको डिएसपी थापाले बताए। घटनामा संलग्न अन्य ब्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।