
काठमाडौः सरकारमा सहभागी हुने विषयमा संघीय समाजवादी फोरमका नेताहरुबीच नै विवाद देखिएको छ।
सरकारमा सहभागी हुने–नहुने विषयमा निर्णय गर्न आज फोरमका पदाधिकारीको बैठक बसेको थियो। बैठकपछि फोरमका नेताहरूले फरक फरक अभिव्यक्ति दिएका छन्।
बैठक पछि फोरमका सहअध्यक्ष श्रेष्ठले फोरम सरकारमा सहभागी हुने निर्णय गरेको जानकारी दिएको भन्दै समाचार सार्वजनिक भयो। तर फोरमका अर्का नेताले भने सरकारमा सहभागी हुने निर्णय नै नभएको दाबी गरेका छन्।
फोरमका नेता रामसहाय यादवले सरकारमा सहभागी हुने बिषयमा कुनै निर्णय नभएको बताए।
पहिलो पोस्टसँग उनले भने, 'हाम्रो प्राथमिकता संविधान संशोधन हो। संविधानका कुन–कुन विषयमा संशोधन गर्नुपर्छ भन्ने बिषय पहिलेदेखि नै तय छन्। सरकार ती विषयमा संशोधन गर्ने तयारीका साथ वार्तामा आए हामी सरकारमा सहभागी हुन्छौँ।'
'बैठकमा पार्टी अध्यक्षज्यूले सरकारसँग भएका वार्ताको वारेमा ब्रिफिङ गर्नुभयो,' उनले भने, 'सरकारमा सहभागी हुने निर्णय भएको छैन्, मिडियाले अाँफै निर्णय गर्छन् अाफै समाचार दिन्छन्।'
संघीय समाजवादी फोरमका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले भने सरकारमा सहभागी हुने निर्णय भएको दाबी गर्छन्।
उनले भने, 'बैठकमा सरकारमा सहभागी हुन भएका वार्ताको बारेमा छलफल भयो। वार्तामा सरकार केन्द्रित दलहरुले संविधान संशोधन गर्ने राजनीतिक सहमति जनाएका छन्। यसैको आधारमा सरकारमा जाने निर्णय भएको हो।'
उनले सरकारमा सहभागी हुने निर्णय भएपनि फोरमले कुन मन्त्रालयमा लिने भन्ने बारेमा टुंगो नलागेको बताए। सरकार केन्द्रित दलहरुसँग छलफल भएपछि मात्र मन्त्रालयको टंगो लाग्ने उनले दाबी गरे।