काठमाडौं : आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत मंगलवार भएको खेलमा जिम्बावले अफगानिस्तानमाथि २ रनको शनसनी जित हात पारेको छ। समूह बी मा जिम्बावेको यो लगातार दोस्रो जित हो भने अफगानिस्तानको दोस्रो हार हो।
अन्तिम ओभरमा अफगानिस्तानलाई जितका लागि ४ रन मात्र आवश्यक थियो र १ विकेट बाँकी थियो तर तेस्रो बलमा सापुर जद्रानलाई ब्राएन भिटोरीले आउट गरेपछि जिम्वले २ रनको जित निकालेको हो।
बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावले ४३ ओभरमा अलआउट हुनुअघि १९६ रन बनाएको थियो। जिम्बावेका लागि ब्रेन्डन टेलरले सर्वाधिक ८९ तथा सिक्नदर राजाले ६० रन बनाए। क्रेग इर्भिनले १३ रन बनाए भने कप्तान ग्रेम क्रिमर १९ रनमा नटबउट रहे। अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङमा अफगानिस्तानका कप्तान रसिद खान र मुजिव उर रहमानले ३-३ विकेट लिए।
१९७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३ बल अगावै १९४ रनमा अलआउट भयो। अफगानिस्तानका लागि रहेमत शाहले ६९ तथा मोहम्मद नावीले ५१ रन बनाएपनि जितका लागि पर्याप्त भए।
बलिङमा ब्लेसिङ मुजारावानीले ४ तथा सिकन्दर राजाले ३ विकेट लिए।
समूह बी मा जिम्बाले लगातार २ खेल जित्दै स्कटल्याण्ड समान ४ अंक जोडेको छ। जिम्बावेले पहिलो खेलमा नेपाललाई हराएको थियो। पहिलो खेलमा अफगानिस्तानलाई हराएको स्कटल्याण्डले दोस्रो खेलमा हङकङलाई हराएको थियो। रनरेटमा स्कटल्याण्ड शीर्ष स्थानमा छ भने जिम्बावे दोस्रोमा छ। अफगानिस्तान, हङकङ र नेपाल अंकविहिन छन्।
अब बिहीवार स्कटल्याण्ड र नेपाल तथा अफगानिस्तान र हङकङबीच खेल हुनेछ।
उता समूह ए अन्तर्गत खेलमा क्रिस गेल र शिमरो हेतमयरले शतक प्रहार गरेपछि वेष्ट इन्डिजले युएईलाई ६० रनले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको थियो। उसका लागि हेतमयरले १२७ तथा गेले १२३ रन बनाए। जवाफमा युएईले पुरै ५० ओभर खेल्दै २९७ रन बनायो। युएईका लागि रमिज शहजादले नटबउट ११२ रन बनाए।
समूह ए कै अर्को खेलमा आयरल्याण्डले पपुवा न्यूगिनीलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ।
