PahiloPost

Mar 31, 2025 | १७ चैत्र २०८१

विद्यादेवी भण्डारीलाई नै फेरि राष्ट्रपति उम्मेदवार बनाउने एमाले निर्णय



रासस

विद्यादेवी भण्डारीलाई नै फेरि राष्ट्रपति उम्मेदवार बनाउने एमाले निर्णय

काठमाडौँः सत्तारुढ नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहनुभएका भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेले बनाउने उम्मेदवारले सहज विजय हासिल गर्ने देखिन्छ। उपराष्ट्रपतिमा केन्द्रले उम्मेदवार तोक्नेछ। 

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिए।
 
बैठकअघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्श गरेका थिए। बरिष्ठ नेता खनाल पनि राष्ट्रपतिका लागि चर्चामा  थिए। 

एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा बहश चले पनि अन्ततः भण्डारीका पक्षमा निर्णय भएको छ। यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell