काठमाडौँः फागुन २९ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनको आज मनोनयन हुँदैछ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको छ।
वाम गठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नै उम्मेदवार हुने निश्चित भएको छ। नेकपा एमालेको स्थायी समितिको मंगलबार मध्यरातमा सम्पन्न स्थायी समिति बैठकले भण्डारीलाई दोस्रो कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको हो। पूर्व अध्यक्ष झलनाथ खनालले पनि सशक्त दावी प्रस्तुत गरे पनि स्याथी समितिमा उनको पक्षमा बहुमत पुग्न सकेन।
एमालेले राष्ट्रपतिमा भण्डारीलाई दोहो¥याएपछि वाम गठबन्धनको घटक माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपतिमा पनि वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन नै दोहोरिने करिव निश्चित छ।
बुधबार हुने मनोनयनको अन्तिम नामावली बिहीबार साँझ ६ बजे निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्नेछ। नयाँ संविधान जारीपछि पहिलोपटक राष्ट्रपति चयन निर्वाचन आयोगले गर्दैछ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद्का सदस्य तथा प्रदेशसभा सदस्य मतदाता रहनेछन्। निर्वाचन कार्यालयले मतदाताको अन्तिम नामावली पनि सार्वजनिक गरिसकेको छ।
राष्ट्रपति निर्वाचनमा संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशतर्फ ४८ मतभार कायम गरिएको छ।
फागुन २९ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ।
कांग्रेस आन्तरिक छलफलमा
वाम गठबन्धनले उम्मेदवार छनोट गरे पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अहिलेसम्म उम्मेदवारबारे कुनै निर्णय लिएको छैन। कांग्रेसले उम्मेदवारबारे छलफल गर्न ९ बजे पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बोलाएको छ।
प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसद्को मतभार अनुसार वाम उम्मेदवारको जित निश्चित छ।
