PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

वर्ल्डकप क्वालिफायर : स्कटल्याण्डको लयलाई रोक्ला नेपालले? (प्रिभ्यू)



पहिलोपोस्ट

वर्ल्डकप क्वालिफायर : स्कटल्याण्डको लयलाई रोक्ला नेपालले? (प्रिभ्यू)

काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर खेल्न जिम्बावे जानुअघि नेपालले आफ्नो समूहमा परेका ४ मध्ये ३ राष्ट्रसँग खेलेको थियो भने जिम्बावेसँग खेलेको थिएन।

खेलेका ३ मध्ये स्कटल्याण्ड पनि एक थियो र नेपालले अहिलेसम्म स्कटल्याण्डलाई हराउन सकेको छैन। बाँकी दुई राष्ट्र अफगानिस्तान र हङकङसँग नेपालले दुवै खाले नतिजा निकालिसकेको छ।

आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायरमा नेपाल यी चार राष्ट्रसँगै समूह बी मा छ। नेपालले बिहीवार स्कटल्याण्डसँग खेल्दैछ। लगातार दुई खेल जितेको स्कटल्याण्डको यो तेस्रो तथा खेलेको एक खेल मात्र हार बेहोरेको नेपालको दोस्रो खेल हुनेछ।

लगातार दुई जितपछि ४ अंकका साथ समूहको शीर्ष स्थानमा रहेको स्टकल्याण्ड सुपर सिक्सको निकै नजिक पुगिसकेको छ। अब कुनै आश्चर्य नभए स्कटल्याण्डले बाँकी खेल हारे पनि सुपर सिक्स पक्का हुनेछ। यता पहिलो खेल हारेपछि खराब रनरेट रहेको नेपालका लागि सुपर सिक्समा स्थान बनाउन बाँकी रहेको ३ मध्ये २ खेल राम्रो नतिजामा जित्नुपर्नेछ। जसले गर्दा स्कटल्याण्ड विरुद्धको खेल नेपालको लागि सुपर सिक्स पुग्न 'गर या मर' को अवस्थामा हुनेछ।

किनकि नेपालले आफ्नो समूहमा अझै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ। यदि स्कटल्याण्डलाई नेपालले हराउन सके बाँकी खेलको लागि नेपालको आत्मविश्वास समेत बढ्नेछ।

समूह बीमा उत्कृष्ट सुरुवात गर्ने क्रममा स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले तथा दोस्रो खेलमा हङकङलाई ४ विकेटले हराएको थियो।

नेपाल भने पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो।

स्कटल्याण्डको पहिलो जितमा कलुम म्याकलेओड र रिची बेरिङटनले उत्कृष्ट प्रदर्शन गरेका थिए। म्याकलेओडले नटआउट १ सय ५७ रन बनाएपछि स्कटल्याण्डले अफगानिस्तानमाथि शानदार जित हात पारेको थियो। उता बलर चम्किएको दोस्रो खेलमा टिम सोलेले १० ओभरमा ५ मेडन राख्दै १५ रन मात्र खर्चेर ४ विकेट लिएपछि हङकङलाई ९१ रनमै अलआउट गरेको थियो। यद्यपि, स्कटल्याण्डले उक्त लक्ष्य पार गर्न ६ विकेट गुमाएको थियो।

यता नेपालले जिम्बावे विरुद्ध अहिलेसम्मै ठूलो लक्ष्य पछ्याउँदै पुरै ५० ओभर खेलेर २ सय ६४ रन बनाएको थियो। पहिलो पटक ५० ओभरमा आइसीसीको फुल मेम्बरसँग खेल्दा नेपालले ठूलो लक्ष्य पाए पनि पूूरै ओभर खेल्यो। बलियो मानिएको बलिङ नै कमजोर हुँदा नेपालले ब्याटिङमा केही सुधार गरेको थियो। तै पनि ओपनिङमा भने पुरानै समस्या देखियो। उक्त खेलमा मिडल अडरले नै नेपालको इनिङ्स धानेको थियो। शरद भेषावकरले ५२ तथा आरिफ शेखले ५० रन बनाएका थिए। यस्तै कप्तान पारस खड्काले ४० तथा रोहित पौडेलले ३० रन जोडेका थिए।

अब नेपालले स्कटल्याण्डविरुद्ध खेल्दा ओपनिङ बलिङ र ओपनिङ ब्याटिङ दुवैमा सुधार गर्नु एकदमै आवश्यक छ। अर्को भनेको स्कटल्याण्डको टप अडरलाई धेरै बेर टिक्न नदिने र चाँडो आउट गर्न सके नेपालले खेलमा पकड बनाउन सक्नेछ।

त्यसैगरी नेपालले ओपनिङमा राम्रो साझेदारी गर्नु जरुरी छ। यसअघिका दुवै खेलमा स्कटल्याण्डलका बलरहरुले राम्रो प्रदर्शन गरेका छन्। 

नेपालले यसअघिका तीन खेलमा स्कटल्याण्डलाई हराउन सकेको छैन। यसपटक नेपाललाई स्कटल्याण्ड विरुद्ध फरक नतिजा निकाल्ने योजनामा हुनेछ भने जिम्बावेमा पहिलो जित हात पार्ने दाउमा छ।

चार वर्षअघि न्युजिल्याण्डै भएको वर्ल्डकप क्वालिफायर तथा वर्ल्ड क्रिकेट लिगको दुवै खेलमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको थियो।

वर्ल्ड क्रिकेट लिग अन्तर्गत पहिलो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरे पनि जितबाट ३ रनले मात्र टाढा रहेको थियो। ३६ ओभरमा घटाइएको उक्त खेलमा स्कटल्याण्ड पहिले ब्याटिङ गर्दै २ सय ३५ रन बनाएको थियो। २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ओपनर अनिल मण्डलको शतक मद्दतमा २ सय ३२ रन बनाउँदै खेल गुमायो। 

अन्य दुई खेलमा भने स्कटल्याण्ड सहजै विजयी भएको थियो।

 

नेपाल vs स्कटल्याण्ड

खेल ३

स्कटल्याण्ड विजयी ३

नेपाल ०

 

२०१४ वर्ल्डकप क्वालिफायर

स्कटल्याण्ड २४९/७ -५० ओभर  नेपाल -१५९ ४६.१ ओभर

स्कटल्याण्ड ९० रनले विजयी

२०१५ डब्लुसिएल

स्कटल्याण्ड २३५/७ -३६ ओभर नेपाल २३२/५ -३६ ओभर

स्कटल्याण्ड ३ रनले विजयी

२०१५ डब्लुसिएल

नेपाल १६७ -४९.१ ओभर स्कटल्याण्ड १११ -१३.१ ओभर

डिएलमा स्कटल्याण्ड ९ विकेटले विजयी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell