काठमाडौं : लागू औषध तस्करले प्रहरीको आँखा छल्न नयाँनयाँ उपाय अपनाउने गरेका छन्। कहिले मुर्ति त कहिले बुद्ध ग्रन्थका किताव, तस्करीका लागि प्रयोग भए जुन नौला रहेनन्।
मंगलवार प्रहरीले यस्तै नौलो तरिका अपनाएर लागू औषधको तस्करी गर्दैगर्दा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। उनीहरुले प्रहरीलाई छल्न ग्रिजको बट्टाभित्र लागू औषध लुकाएको पाइएको छ। ग्रिजको बट्टामा लागू औषध हाल्ने अनि माथिबाट प्लास्टिक बिछ्याए ग्रिज राखी ग्रिज ल्याएको देखाउने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए।
महानगरीय प्रहरी बृत्त जनसेवाले जैसिदेवलबाट लागू औषधको कारोबार गर्ने एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भारत दरभंगाका मोहमद रियाजुद्धिन, नुवाकोटका सुनिल घिमिरे र विगु रायभर रहेका छन्। पक्राउ परेका सुनिल भारत हुँदै काठमाडौं ल्याइएको लागू औषध वितरण गर्ने मुख्य डिलर हुन्। उनीहरुले विगत पाँच महिनादेखि कारोबार गर्दै आएको प्रहरीले जनाएको छ।
उनीहरुबाट १९ सय पिस लागू औषध एम्पुल सेट बरामद गरेको हो। बरामद लागू औषधीको मूल्य करिब २३ लाख रुपैयाँ हुन आउने एसएसपी पोखरेलले जानकारी दिए
लागू औषधको दिल्ली-काठमाडौं रुट
उनीहरुले भारतको दिल्लीमा खरिद गरेको लागू औषध वीरगंज र विराटनगरको नाका हुँदै नेपाल भित्र्याउने गरेको खुल्न आएको छ। मुख्य तस्करले भारतबाट खरिद गरी नेपालको नाकासम्म ल्याउँछन्। त्यसपछि काठमाडौं आउने बस तथा माइक्रोबसमा ग्रिज भन्दै नक्कली रसिदसहित सप्लाइ हुने गरेको एसएसपी पोखरेलले बताए। उनले भने, 'सामानसँगै गाडीमा एक जनालाई पठाउँछन्। उसको काम भनेको काठमाडौं पुगेर सम्बन्धित व्यक्तिलाई सामान जिम्मा लगाउनुमात्र हो।'काठमाडौंसम्म लागू औषध ल्याएबापत उनीहरुले २० हजार रुपैयाँ पाउँछन्।