PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

जब प्रहरी सेवाग्रही बनेर श्रम कार्यालय छिर्‍यो …



सविन ढकाल

जब प्रहरी सेवाग्रही बनेर श्रम कार्यालय छिर्‍यो …

काठमाडौं : बुधवार बिहान महानगरीय प्रहरी परिसर टेकुबाट एउटा टोली निस्कियो। सुकिला मुकिला गेटअप, हातमा सुनको बाला अनि गलामा सुनकै चेन।

खँदिलो देखिने गरी केहीले ढाडमा झोला समेत भिरेका थिए। झट् हेर्दा वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किएका युवाजस्तै देखिन्थे उनीहरु। यथार्थ देखेभन्दा फरक थियो। उनीहरु अरु कोही नभइ प्रहरी नै थिए, सिभिल ड्रेसमा। कोभर्ट अपरेसनका लागि उनीहरु विदेशमा जाने कामदारकै गेटअपमा थिए। 

टेकुबाट एक किलोमिटरभन्दा कम दुरीमा रहेको होटल सोल्टीभन्दा पछाडि उनीहरुको गन्तव्य थियो। वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालयमा पुगेपछि रोकिए। उनीहरु गेटमा नपुग्दै 'सर श्रम गर्ने हो?' भन्दै हातमै समाउन आइपुग्थे केही युवा। एक प्रहरी अधिकृतले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'सर म गर्दिन्छु, चाँडो हुन्छ। भित्र सबै सेटिङ छ हाम्रो भन्दै आउने रहेछन्।' उनीहरुले यस्तो भने पछि हो र? कसरी गर्नु हुन्छ? कति पैसा लाग्छ? जस्ता प्रश्नहरु ती युवातिरै फर्काउँथे सादा पोशाकका प्रहरीले।

सिभिलमा पुगेका प्रहरी जसलाई खोजिरहेका थिए ती स्वयम् उनीहरुसामु आइरहेका थिए। विचौलिय समात्नु उनीहरुको मिसन थियो। त्यसपछि उनीहरुले एकएक गर्दै समात्न थाले। एक दुई... गर्दैगर्दा ५० जना पुगे।

एक प्रहरी अधिकृत भन्छन्, 'हामीले त शुरुमा ५ देखि ७ जना होला भन्नेमात्र सोचेका थियौं। यतिका धेरै विचौलिया रहेछन्।' 

प्रहरीले पक्राउ गरेका विचौलिया प्रहरीको एउटा भ्यानमा अटाएनन्। त्यसपछि अर्को मगाएर परिसर ल्याइयो। यसरी प्रहरी नियन्त्रणमा पर्नेमा महिला पनि छन्। परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेल उनीहरुले एक जना सेवाग्रहीबाट १ हजार देखि ५ हजार रुपैयाँसम्म लिने गरेको बताउँछन्।
पक्राउ परेका मध्ये ३५ जनालाई सार्वजनिक मुद्धामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको एसएसपी पोखरेलले बताए।
श्रम कार्यालयमा सेवाग्रहीको भिड, कर्मचारीको कामको ढिलासुस्तीका कारण विचौलियालाई मोटो रकम बुझाउन बाध्य छन् सर्वसाधारण।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell