
पोखरा : प्रोफेस्नल गल्फर जयराम श्रेष्ठ र एम्योचर अजित बिकेले वेस्टर्न ओपन गल्फको पहिलो दिन १ ओभर ७१ अंकसहित संयुक्त रूपमा अग्रता कायम गरेका छन्। पोखराको हिमालयन गल्फ कोर्समा बुधवार सुरु भएको प्रतियोगितामा पहिलो दिन १८ होलको समाप्तीमा जयराम र अजितले भु बहादुर गुरूङ र धन बहादुर थापालाई १ स्ट्रोकले पछि पारेका छन्।
भु बहादुर गुरूङ र धन बहादुर थापा २ ओभर ७२ अंक सहित संयुक्त रूपमा दोस्रो स्थानमा छन्। ३ ओभर ७३ अंक सहित सुर्य प्रसाद शर्मा पाँचौ तथा भुवन नगरकोटी र संजीव बहादुर नेपाली ७४ अंक सहित संयुक्त रूपमा छैटौँ स्थान बाडेका छन्। नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठ र कमल तामाङ ५ ओभर ७५ अंक सहित संयुक्त रूपमा आठौं स्थानमा रहेका छन्।
सुर्य नेपाल गल्फ टुरको सातौं प्रतियोगिता अन्तर्गत ३ दिन सञ्चलान हुने वेस्टर्न ओपनमा २६ प्रो र १७ एम्च़ोर गरी कूल ४३ खेलाडीले सहभागि छन्।
कुल ६ लाख ३० हजार नगद पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: ७४ हजार र ५३ हजार नगद हात पार्नेछन्।