राजविराजः राष्ट्रिय जनता पार्टी (राजपा) का अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सीमांकनसहितको संविधान संशोधन प्रक्रिया अगाडि बढेमात्र आफूहरु सरकारमा जाने बताएका छन्।
गत वर्ष प्रहरीद्वारा मारिएका पाँच जना शहीदको सम्झानामा सप्तरीको राजविराजस्थित मलेठमा आज आयोजित प्रथम पुण्यतिथि तथा श्रद्धाञ्जली सभामा उनले सो कुरा बताएका हुन्।
ठूला पार्टीले बनाएको संविधान त्रुटिपूर्ण रहेकाले मधेशी, दलित, पिछडिएका वर्ग, मुस्लिम, महिला लगायतको अधिकार हुने गरी संविधान संशोधन हुन जरुरी रहेको र त्यसमा आफूहरु पूर्णरुपमा लागिरहेको अध्यक्ष महतोको भनाइ छ।
उनले हामीलाई सत्ताभन्दा मधेशी, दलित र जनजातिको अधिकारको आवश्यकता छ भन्दै त्यसमा हाम्रो पार्टी पछि नहट्ने बताए। अब देशमा लडाईं झगडा समाप्त पार्नका लागि वाम गठबन्धनले पनि त्रुटिपूर्ण बनेको संविधानलाई संशोधन गर्नका लागि राजपा नेपालले पनि साथ दिने बताए।
सोही क्रममा राजपाकै अर्का अध्यक्ष राजकिशोर यादवले नेपालमा बनेको संविधान तीन पार्टीले बनाएको र त्यो अधुरो र अपूर्ण संविधान रहेको बताउँदै संविधान संशोधन गरे मात्र पूरा संविधान बन्ने विचार राखे।
सो कार्यक्रममा प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले शहीद परिवारको रोजगारी, शिक्षादीक्षा, सरकारी सुविधाको व्यवस्था गरिने बताए।
साथै मधेशमा प्रहरीद्वारा हत्या गरेका शहीदको स्मृतिमा शहीद स्मारक बनाउने घोषणासमेत मन्त्री सोनलले गरे। त्यस्तै समाजिक विकास मन्त्री नवलकिशोर साह र कृषिमन्त्री शौलेन्द्रप्रसाद साहले राजपा र फोरमले कहिले पनि मधेशी जनताको हितकोविपरीत काम नगर्ने वाचा गरे।
गत २०७३ फागुन २३ गते नेकपा (एमाले)ले शुरु गरेको मेची–महाकाली अभियानअन्तर्गत मलेठमा आयोजना गरेको आमसभामा मधेशी कार्यकर्ता र प्रहरीबीच भएको झडपमा पाँच जना मधेशी कार्यकर्ताको मृत्यु भएको थियो। रासस
