चरिकोटः नर्वेका अन्तर्राष्ट्रिय विकासमन्त्री निकोलाई अस्ट्रुपले नेपालको शैक्षिक विकासमा साझेदारी गरेर अगाडि बढ्ने बताएका छन्।
बुधबार दोलखाको बिगु गाउँपालिकामा निर्मित नर्वेजियन सरकारको सहयोगमा निर्माण भएको विद्यालयको उद्घाटन गर्दै उनले नेपालको शैक्षिक क्षेत्रको विकास बालबालिकाको सर्वङ्गीण विकासका लागि नर्वे सरकार जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको बताए।
मन्त्री अष्ट्रुपले जिल्लाको बिगु गाउँपालिकास्थित चिलंखाको लोटिङ पुगेर देवीटार आधारभूत विद्यालयको उद्घाटन गरे।
उनले विद्यालयको उद्घाटन गर्नुका साथै विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिसँग पनि छलफल गरेका थिए।
सिविन नेपाल र ग्रामीण विकास टुकी संघले नर्वेजियन दूतावासको आर्थिक सहयोगमा जिल्लाको बिगु र कालीञ्चोक गाउँपालिकामा भूकम्पबाट क्षतिग्रस्त विभिन्न २२ वटा विद्यालय पुनःनिर्माणको काम गरिरहेको छ।
सोमध्ये १२ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको र १० वटाको निर्माण भइरहेको सिविन नेपालका कार्यक्रम व्यवस्थापक रवीन्द्र पराजुलीले जानकारी दिए।
मन्त्री अष्ट्रुपले बिगु र कालीञ्चोक गाउँपालिकाका जनप्रतिनिधिसँग पनि छलफल गरेका थिए।
छलफलका क्रममा उनले नेपालको संविधानमा भएको संघीयता, सुशासन र विकासको मोडल तथा नर्वेजियाली सरकारले गरेको सहयोगको प्रभावकारिताको विषयमा चासो राखेको बिगु गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बताए।
विकासमन्त्री अष्ट्रुप मन्त्रीमा निर्वाचित भएको दुई महिनापछि अन्तर्राष्ट्रिय भ्रमण तय गर्दै दक्षिण एशियाली राष्ट्रको पहिलो विदेश भ्रमणका क्रममा नेपाल आएका हुन्। दोलखामा २२ वटा भवनका लागि नर्वे सरकारले रु ३० करोड खर्च सहयोग गरेको छ। रासस
