
काठमाडौं : नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले लिस्ट ए क्रिकेटमा एक हजार रन पुरा गरेका छन्।
आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत स्कटल्याण्ड विरुद्ध खेल्दै पारसले १००० रन बनाएका हुन्। र उनी यस्तो उपलब्धी हात पार्ने पहिलो नेपाली खेलाढी समेत बनेका छन्।
स्कटल्याण्ड विरुद्ध खेल्नुअघि पारसले ९९१ रन बनाएका थिए। पाँचौ ओभरको पाँचौ बलमा स्कटल्याण्डका स्टुअर्ट ह्विटिङहमलाई चौका प्रहार गर्दै पारसले १००० रन बनाएका हुन्।
पारसले लिस्ट ए मा ३० खेल खेल्दै २ शतक समेत प्रहार गरिसकेका छन्। यस्तै ६ अर्धशतक बनाएका छन्।
नेपालको तर्फबाट लिस्ट ए मा २ शतक प्रहार गर्ने पारस एक्ला खेलाडी हुन र उनको उच्च स्कोर ११२ हो। पारसले नामिबियामा भएको डिभिजन टू को फाइनलमा युएई विरुद्ध ११२ रन बनाएका थिए।
सन् २०१४ मा युएई विरुद्ध लिस्ट ए मा डेब्यु गरेका पारसले यसअघिका २९ खेलमा १७ विकेट समेत लिएका छन्।