काठमाडौं: उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले सरकारले शुन्य भष्ट्राचार सिद्धान्त अपनाउने बताएका छन्।
राजधानीको भृकुटीमण्डपस्थित बगैंचामा आयोजित नेपाल अन्तरार्ष्ट्रिय व्यापार मेला उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले उद्योगी-व्यापारीलेसमेत भ्रष्टाचारलाई प्रश्रय दिइरहेको दाबी गरे।
आफ्नो काम गराउन उद्योगीहरुले पेश्की दिने गरेको उल्लेख गर्दै मन्त्री यादवले अब कुनैपनि बाहनामा भ्रष्टाचारलाई प्रश्रय नदिइने बताए।
‘पेश्की दिन बन्द गर्नुहोस। गलत काम गराउन नलाग्नु होला। उनले भने, ‘अब जस्ले घुस खुवाउछ उसको काम हुदैँन। जस्ले घुस खान्छ त्यसको के होला?’
अब जनतालाई आश्वासन दिने भन्दा पनि काम गर्ने तर्फ यो सरकार प्रतिबद्ध रहेको उनले बताए। यादवले भने, ‘मन्त्री बनेपछी असुली गर्छन्। कर्मचारी सहभागी हुन्छन्। तस्करहरु कर्मचारीलाई घुस खुवाउने गर्छन। काम गर्नु ढिला भए उद्योगी पेस्की दिन्छन्। नेताहरुले अहिले सम्म आफ्नो लागि काम गर्यौ।
हिजोका दिनमा भएका गल्तीहरुलाई सच्चिने मौका दिने उल्लेख गर्दै मन्त्री यादवले केही घुस खाएका भए ती मिनाहा हुनेसमेत बताए। राष्ट्र नै डुब्ने गरी खाएका भए त्यसमा भने माफी दिन नसक्ने उल्लेख गर्दै उनले थपे ‘हिजो के के गर्नुभयो मिनाहा हुन्छ। तर धेरै गरेको छ भने मिनाहा हुदैँन। मिनाहा गरिसकेपछि नया ढङ्गले चलौँ।'
मन्त्री यादवले आफू नयाँ नयाँ मन्त्री रहेकोले समस्याहरुबारे बुझाउन उद्योगीलाई आग्रहसमेत गरेका थिए।