
चितवन : राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लु)को आयोजनामा भइरहेको महिला टी-२० क्रिकेट लिगमा विभागीय टोली एपीएफले लगातार दोस्रो जित हासिल गरेको छ। आयोजक आरसिडब्लु भने पराजित भएको छ।
चितवनको टाँडीस्थित नेपाल माध्यमिक विद्यालयको क्रिकेट मैदानमा बिहीवार भएको खेलमा एपीएफले भारतीय टोली एडब्लुटिसिएलाई ९ विकेटले हरायो।
९१ रनको लक्ष्य एपीएफले १ विकेट गुमाएर पुरा गरेको हो। एपीएफको जितमा सीता राना मगरले नटआउट रहदै सर्वाधिक ३४ रन बनाइन्। यस्तै ज्योती पाण्डेले २२ रनको योगदान गरिन् भने सरीता राना १० रनमा नटआउट रहिन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले ९० रन मात्र बनाएको थियो। उसका लागि सुनिता नुर्मुले सर्वाधिक ३३ रन बनाइन्। एपीएफकी सीता राना मगरले ३ तथा रेखा रावल र सरीता रानाले २-२ विकेट लिइन्।
अलराउण्ड प्रदर्शन गरेकी एपीएफकी सीता राना मगर वुमन अफ दि म्याच घोषित भइन्।
त्यसअघि बिहीवारै भएको पहिलो खेलमा मिलन क्रिकेट एकेडेमीले आयोजक आरसिडब्लुलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै लिगमा पहिलो जित हात पारेको छ।
मिलन क्रिकेट एकेडेमीकी काजोल श्रेष्ठ ब्याटिङ गर्दै
टस जितेर पहिले ब्याटिङ गरेको मिलन क्रिकेट एकेडेमीले ३ विकेट गुमाएर १२९ रन बनाएको थियो। उसका लागि ओपनर काजोल श्रेष्ठले सर्वाधिक ३३ रन बनाइन् भने कविता जोशीले नटआउट २६ रन योगदान गरिन्। यस्तै कप्तान रुविना क्षेत्रीले २१, नेरी थापा मगरले ११ तथा रोमा थापाले ११ रन जोडिन्। बलिङमा आरसिडब्लुकी अस्मिना कर्माचार्य र ममता चौधरीले २-२ विकेट लिइन्।
१३० रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको आरसिडब्लु १२ ओभरमा ४९ रनमै अलआउट भयो। आरसिडब्लुका लागि सोमु विष्टले नटआउट १७ तथा कृति सेनले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। आरसिडब्लुका ७ खेलाडीले खाता समेत खोल्न सकेनन्।
उसलाई कम स्कोरमा अलआउट गर्न मिलन क्रिकेट एकेडेमीका लागि संगिता राई एक्लैले ५ विकेट लिइन् भने कप्तान रुविना र सन्तोषी चौधरीले २-२ विकेट झारिन्।
संगिता राई खेलको वुमन अफ दि म्याच घोषित भइन्।