काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरअन्तर्गत समूह बीमा रहेको अफगानिस्तानले लगातार तेस्रो हार बेहोरेको छ। वर्षाका कारण ४६ ओभरमा छोट्टाइएको खेलमा हङकङले अफगानिस्तानलाई डिएल मेथडमा ३० रनले पराजित गरेको हो।
पहिलो खेलमा स्कटल्याण्डसँग हारेको हङकङको यो पहिलो जित हो र यसले उसको सुपर सिक्स पुग्ने सम्भावना कायमै राखेको छ। हङकङले अब घरेलु टोली जिम्बावे र नेपालसँग खेल्न बाँकी छ। उता लगातार ३ खेल हारेपछि टेष्ट मान्यता पाएको अफगानिस्तान सुपर सिक्सबाट बाहिरिने संघारमा छ।
यता नेपालले पनि लगातार दोस्रो हार बेहोरेको छ। नेपाललाई पराजित गर्दै लगातार तेस्रो जित हात पारेको स्कटल्याण्ड समूह बी बाट सुपर सिक्समा पुगिसकेको छ।
क्वालिफायरमा कूल १० टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ। दुवै समूहबाट शीर्ष ३ स्थानमा रहने टोली सुपर सिक्समा पुग्नेछन्।
नेपाल रहेको समूह बीमा स्कटल्याण्ड ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा छ र सुपर सिक्स पुगिसकेको छ। लगातार दुई जितबाट ४ अंक जोडेको घरेलु टोली सुपर सिक्स नजिक छ भने २ खेल खेल्दा एक जित र एक हार नतिजा निकालेको हङकङ २ अंकका सात तेस्रो स्थानमा छ र सुपर सिक्स सम्भावना कायम छ।
नेपाल र अफगानिस्तान भने यस समूहमा अंक बिहिन छ।
अब नेपालले सुपर सिक्समा स्थान बनाउन अफगानिस्तान र हङकङ विरुद्धको बाँकी दुवै खेल जित्नुपर्छ।
उता हङकङले जिम्बावे र नेपालसँग खेल्न बाँकी छ र एक खेल जिते मात्र पनि सुपर सिक्स पुग्न सक्छ। हङकङले जिम्बावेसँग हारेपनि नेपाललाई पराजित गरेको खण्डमा भने तेस्रो स्थान हात पार्नेछ। तर नेपालले हङकङ र अफगानिस्तानलाई हराउने अनी हङकङले जिम्बावेलाई हराएको खण्डमा भने रनरेट निर्णायक हुनेछ।
यस्तै नेपालले हङकङलाई हराउने, अफगानिस्तानले नेपाललाई हराउने र जिम्बावेले हङकङलाई हराएको खण्डमा भने नेपाल, अफगानिस्तान र हङकङ सबैको समान २ अंक हुन्छ। यस्तोमा पनि रनरेट नै निर्णायक हुनेछ।
तर लगातार दुई खेल हारेको नेपाल रनरेटमा अन्य टोली भन्दा पछाडी छ र अंक तालिकामा पुछारमा छ।
उता समूह ए मा लगातार दुई जितपछि वेष्ट इन्डिजले आयरल्याण्ड समान ४ अंक जोडेको छ। दुवै टिमले २ खेल मात्र खेलेका छन्। यस्तै ३ खेल खेलेको युएईले दुईमा जित र एकमा हारको नतिजासहित ४ अंक नै जोडेको छ।
लगातार ३ खेल हारेको पपुवा न्यूगिनी भने सुपर सिक्स होडबाट बाहिरिसकेको छ।
नेदरल्याण्ड्सले पनि लगातार दुई खेल हारेको छ। नेदरल्याण्ड्सले सुपर सिक्स पुग्न आफ्नो दुई खेल जितेर बाँकी खेलको नतिजामा भर पर्नुपर्नेछ।
