काठमाडौँः प्रतिनिधि सभाको सभामुख पदका लागि आज मनोनयन हुँदैछ। संघीय संसद् सचिवालयले तय गरेको आन्तरिक कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन हुनेछ। आजै दिउँसो १ः३० बजे मनोनयन गर्ने उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक हुनेछ।
वाम गठबन्धनबीच भएको पदीय भागबन्डा अनुसार सभामुख पदमा माओवादी केन्द्रले उम्मेदवारी दिनेछ।
अन्तिम समयमा एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष र सभामुख पद साट्ने कसरत गरे पनि कुनै परिणाम निस्किएन।
माओवादी केन्द्रका तर्फबाट सभामुखमा नेता कृष्णबहादुर महराको मनोनयन करिव निश्चित छ। बिहीबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको अनौपचारिक छलफलपछि महराको नाम टुंगो लागेको हो। औपचारिक रुपमा भने मनोनयन अघि निर्णय लिने तयारी छ।
माओवादीमा महरासँगै नेताहरु देव प्रसाद गुरुङ, र गिरिराजमणि पोखरेलले सभामुखमा दावी गरेका थिए। गुरुङलाई रामबहादुर थापा समूहले सभामुख प्रस्ताव गरेको थियो। तर, थापा स्वयंम मन्त्री भएपछि गुरुङको दाबेदारी सशक्त बनेन्। नारायणकाजी श्रेष्ठले पोखरेललाई सभामुख बनाउन लविङ गरे पनि उनलाई मन्त्री बनाउने गरी सभामुखको महराको नाम अनौपचारिक रुपमा टुङ्गो लगाइएको हो।
सभामुख पदमा लागि शनिबार दिउँसो १ बजे संसद्मा निर्वाचन हुँदैछ।