PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

बाहिर महिला दिवसका चर्का नाराः प्रहरी कार्यालयभित्र ७० वर्षकी वृद्धाको रोदन



पहिलोपोस्ट

बाहिर महिला दिवसका चर्का नाराः प्रहरी कार्यालयभित्र ७० वर्षकी वृद्धाको रोदन
नेपाल सामाजिक मञ्चको आयोजनामा बिहीबार काठमाडौँको भद्रकालीबाट निकालिएको पदयात्रामा सहभागीहरु । तस्बिरः रासस

रोल्पाः रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइँदै थियो। नजिकै रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्दै थियो। 

७० वर्षिया एक वृद्धा काखमा १ वर्षकी नातिनी च्यापेर रुँदै थिइन्। नजिकै उनकी ३८ वर्षिया छोरी पनि आँशु पुछ्दै थिइन्। 

ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख दिएको भन्दै ७० वर्षीया वृद्ध प्रहरी सामु बिलौना गर्दै थिइन्। 

'तीन भाइ छोरा थिए सबै मरेर सकिए । करिब तीन वर्ष पहिले श्रीमान्‌ले  पनि छोडेर गए । भएकी यौटी छोरीको पनि जिन्दगी सुखद् हुन सकेन, कस्को सहारामा बाँचुँ' भन्दै वृद्ध आमा निकै भक्कानिजईन्। 

'छोरीको पहिलो घर बनेन । पहिलो ज्वाइँले सौता हालेपछि पहिलो श्रीमान् र चार सन्तान छोडेर छोरी माइतीमै बसेकी थिइ । करिब तीन वर्ष पहिले दोस्रो विवाह गरी । दोस्रो ज्वाइँले पनि सौता हाले र विदेशीए । दोस्रो ज्वाइँबाट एक वर्षकी नातिनी छे । उनले पनि निकै दुःख दिएका छन् । यो छोरीको चिन्ताले मर्ने बेला दुःखी बनेकी छु । म मरे यस्को संरक्षण कस्ले गर्ला, कहाँ जाली, के खाली ? लौ हजुर छोरीलाई न्याय दिनुपर्‍यो,' महिला सेलामा बसेका महिला प्रहरीसँग उनले बिलौना गरिन्। 

पीडित महिलाका अनुसार उनको पहिलो विवाह सफल हुन नसकेका कारण तीन वर्ष पहिले इँटाभट्टामा काम गर्न गएका बेला दोस्रो विवाह गरेकी थिइन्। बिहेपछि करिब सात महिना सँगै बसेर दुःखसुख गरेका श्रीमान् विदेशिएको केही समयपछि दोस्रो विवाह गरेको खबर आयो। 

'श्रीमान् धन कमाएर घर फर्केलान् र सुखसँग जीवन काटौँला भन्ने आशा थियो, तर सौता हालेछन् । त्यसपछिका दिनमा फोन उठाउनै छाडे । मेरो वास्ता गरेनन्,' ती महिलाले भनिन्, 'यो छोरी जन्मिएपछि जेठाजुले फोनबाट छोडपत्र गराउने भनेका छन् भन्दै देउरानीले गाउँले भेला गरेर श्रीमान् विदेश भएकै बेला हाम्रो सम्बन्धबिच्छेद भएको कागज गराई । पैसा दिएर मलाई छुटाउने भनेर निर्णय गरेजस्तो लाग्छ । तर मैले आजसम्म एक सुक्को पाएकी छैन।'

कागज गरेको भए पनि कागजमा के लेखिएको छ उनलार्इ थाहा छैन्। माइतीले दिएको दुई लाख रुपैयाँ पनि श्रीमान्‌ले हिनामिना पारेको उनले बताईन्। 'म अन्यायमा परेकी छु न्याय पाइन्छ कि भनेर प्रहरीमा आएकी हुँ,' प्रहरीसँग उनले भनिन् 'प्रहरीमा आउँदा सम्म श्रीमान् सकारात्मक देखिन्छन् तर गाउँ फर्किएपछि उनको उही चाला हुन्छ। आउन जान गाडी भाडा नभएर हैरान हुन्छ। आज त जसरी पनि न्याय दिनुस्। म अन्यायमा परेँ।' 

दिन फेरिए, विधि विधान फेरिदै गएका छन् तर पनि रोल्पाका केही महिलाको अवस्थामा भने कुनै परिवर्तन आउन सकिरहेको छैन। 

प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालका अनुसार यही विषय लिएर पीडित महिला पटकपटक प्रहरीमा आएकी छन्। श्रीमान् बाहिर भएका बेला देउरानीसहित आफन्तले अवैधानिक रुपबाट सम्बन्धबिच्छेद गराएको खुल्न आएको उनको भनाइ छ। 

फुँयालका अनुसार दुई लाख २५ हजार रुपैयाँ दिएर सम्बन्धबिच्छेदको कागज गराएको देखिन्छ । तर पीडितको हातमा कुनै किसिमको रकम नपरेको उनले जानकारी दिए। 

सम्बन्धबिच्छेद गराए पनि अदालती प्रक्रियाबाट दुवैको मञ्जुरीमा हुनुपर्नेमा यसो हुन सकेन। अर्कोतर्फ पीडितको दुई श्रीमान् भएको भए पनि दुवैसँग विवाह दर्ता पनि छैन र बच्चाको जन्म दर्ता पनि छैन। 

विवाह दर्ता लगायका कागजात नहुँदा कारवाही गर्न गाह्रो भएको प्रहरी नायब उपरीक्षक फुँयालले बताए। उनका अनुसार पीडकलाई हिजोदेखि प्रहरी हिरासतमा राखिएको छ। 

महिला दिवसका दिनमात्र प्रहरी कार्यालय रोल्पामा तीनवटा महिला हिंसाका घटना आएको पनि प्रनाउ फुँयालले जानकारी दिए। 

जिप्रका रोल्पाअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्र, रोल्पामा यस आर्थिक वर्षमा ७३ वटा महिला हिंसाका घटना दर्ता भएका छन्। ती मध्ये पाँचवटा घटना सम्बन्धबिच्छेदका लागि जिल्ला अदालत रोल्पामा पठाइएको प्रहरी सहायक निरीक्षक दिलकुमारी बुढामगरले जानकारी दिइन्। 

त्यस्तै महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार यस आर्थिक वर्षमा महिला तथा बालबालिका कार्यालय रोल्पामा १९ वटा महिला हिंसाका घटना दर्ता भएका छन्। 

यस्तै, रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्तीमगरका अनुसार १२ वटा महिला हिंसाका घटना दर्ता भएको छन्। जसमध्ये आठवटा फैसला भइसकेका छन्। 

कार्यालयमा दर्ता भएकाभन्दा बढी घरेलु हिंसाका घटना मौखिकरुपमा मिलाएर पठाउने गरिएको छ। केही घटना बाहिरी रुपमा मिलेर गए पनि मनैदेखि मिल्न नसक्दा सम्वन्धमा समस्या आउने गरेको अधिकारकर्मी बताउँछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell