PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

दोस्रो किस्ता माग्दै तीन लाख भूकम्पपीडितको निवेदन



पहिलोपोस्ट

दोस्रो किस्ता माग्दै तीन लाख भूकम्पपीडितको निवेदन

काठमाडौँः भूकम्पले क्षति पुर्‍याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित लाभग्राहीको संख्या तीन लाख नाघेको छ। 

प्राधिकरणको सूचना संयन्त्रमा बिहीबारसम्म प्राप्त तथ्यांकअनुसार तीन लाख एक हजार ८४ भूकम्पपीडितले दोस्रो किस्ता माग गर्दै निवदेन दिएका हुन्। 

पहिलो किस्ता लिएका लाभग्राहीले मापदण्डअनुसार जग तहसम्म निर्माणकार्य गरी दोस्रो किस्ताका लागि निवदेन दिनसक्ने कार्यविधि छ। लाभग्राहीले निवेदन दिएपछि प्राधिकरणले जाँच गरी दोस्रो किस्ताका लागि सिफारिस गर्छ। 

दोस्रो किस्ताका लागि निवदेन दिएकामध्ये दुई लाख ८८ हजार २३ जना लाभग्राहीको प्रमाणीकरण पनि भइसकेको छ। बाँकी १३ हजार ६१ को पनि छिट्टै प्रमाणीकरण हुने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए। 

'दोस्रो किस्ता लिने समयसीमा तोकिनु, घर निर्माण गर्ने मौसम तथा सबै स्थानीय तह मातहत रहनेगरी प्राविधिक खटाइएका कारण निजी घर पुनःनिर्माण उत्साहजनक देखिएको हो', उनले भने। 

प्राधिकरणको सूचना प्रणालीमा दर्ता भएको तथ्यांकअनुसार सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ५१ हजार ६६ लाभग्राहीले दोस्रो किस्ताका लागि निवदेन दिएका छन्। भूकम्प अतिप्रभावितका साथै कम प्रभावित जिल्लामा पनि दोस्रो किस्ताका लागि निवेदन दिने लाभग्राहीको संख्या वृद्धि भइरहेको छ।

कम प्रभावित लमजुङका ६५२, चितवनका ५०२ र नवलपरासीका २९ लाभग्राहीले दोस्रो किस्ताका लागि निवेदन दिएका छन्। 

शहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइकाअनुसार बिहीबारसम्म तीन लाख ३८ हजार २९ घर पुनःनिर्माण भइरहेका छन्। एक लाख एक हजार ६९४ घर पुनःनिर्माण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ। 

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा सूचिकृत भएका पीडितलाई पहिलो किस्तामा रु ५० हजार, दोस्रो किस्तामा रु एक लखा ५० हजार र तेस्रो किस्तामा रु एक लाख दिने कार्यविधिमा उल्लेख छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell