काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शनिवार अफगानिस्तानसँग खेल्दैछ। यसअघिको दुई खेल क्वीन्स स्पोर्ट्स क्लबमा खेलेको नेपालले अफगानिस्तान विरुद्ध भने बुलावायो एथ्लेटिक क्लबमा खेल्दैछ। नेपालको लागि यो नयाँ मैदान हो।
समूह बी मा रहेको नेपालले यसअघिका दुवै खेल हारेको थियो। यस्तै अफगानिस्तानले पनि लगातार तेस्रो हार बेहोरिसकेको छ।
अफगानिस्तानले भने पहिलो र तेस्रो खेल बुलावायो एथ्लेटिक क्लबमै खेलेको थियो। उसले दोस्रो खेल क्वीन्स स्पोर्ट्स क्लमा खेलेको थियो।
नेपालका प्रशिक्षक जगत टमाटाले नयाँ मैदानमा खेल्न लागेका कारण त्यहाँ गएर अवस्था बुझेपछि रणनीति बनाउने जिम्बावेबाट पहिलोपोस्टलाई जानकारी दिए।
‘हामी भोली बिहान मैदानको निरिक्षणमा जानेछौँ। त्यहाको पिच र कन्डिसन हेरेर टिम म्यानेजमेन्टसँग छलफल गरेर कस्तो रणनीति बनाउने निर्णय गर्नेछौँ’, टमाटाले भने।
उनले टिममा खेलाडी परिवर्तन हुने/नहुने बारे पनि त्यसपछि नै थाहा हुने बताए।
यसअघिका दुई खेल हारिसकेका कारण नेपालले समूहमा शीर्ष ३ स्थान हात पार्न अफगानिस्तान र हङकङलाई हराउनुपर्ने बाध्यता छ।
बिहीवार स्कटल्याण्डसँग हारेपछि नेपालका कप्तान पारस खड्काले पनि नेपालको सुपर सिक्स सम्भावना कायमै रहेको र त्यसका लागि बाँकी खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताएका थिए।
