काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ। यसअघि लगातार तीन खेलमा पराजित भएको अफगानिस्तानले नेपाललाई ६ विकेटले पराजित गरेको हो।
नेपालले दिएको १९५ रनको लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो।
समूह बी मा ४ खेलबाट २ अंक जोडेको अफगानिस्तानले सुपर सिक्समा पुग्ने सम्भावनालाई समेत कायम राखेको छ। आजको अर्को खेलमा हङकङ जिम्बावेसँग हार्ने अनी सोमवार नेपालले पनि हङकङलाई पराजित गरेको खण्डमा तीन टोलीको समान २ अंक हुनेछ र राम्रो रनरेट हुने टिम सुपर सिक्समा पुग्नेछ। हङकङले नेपाललाई हराएमा भने हङकङ सुपर सिक्समा पुग्नेछ र अफगानिस्तान र नेपालले सातौँ स्थानको लागि प्लेअफ खेल्नेछ।
यता लगातार तेस्रो हारपछि सुपर सिक्समा पुग्ने नेपालको सम्भावना धेरै कमजोर बनेको छ। नेपालको रनरेट सबैऐन्दा कमजोर भएका कारण अन्तिम खेलमा हङकङलाई ठूलो अन्तरले पारजित गरेमा मात्र नेपाल सुपर सिक्स पुगन सक्छ। त्यसका लागि हङकङ जिम्बावेसँग पनि हार्नुपर्नेछ।
अफगानिस्तानको जितमा नजिबुल्लाह जद्रानले अर्धशतक प्रहार गरे। उनले नटआउट रहदै ५२ रनको योगदान गर्दा रहेमत शाहले ४६, मोहमद नावीले ३४, जाभेद अहमेदीले २६ तथा कप्तान रसिद खानले २१ रन बनाए।
Afghanistan hold their nerve to keep their hopes still alive as Najibullah Zadran guides a comfortable chase against Nepal#AFGvNEP REPORT ➡️ https://t.co/aKHI1kcQGU pic.twitter.com/4BCmzR4uQe
— Cricket World Cup (@cricketworldcup) March 10, 2018
बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ तथा करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए।
त्यसअघि बुलावायो एथ्लेटिक क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १ बल बाँकी छदा १९४ रनमा अलआउट भएको हो।
नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन। कप्तान पारसले सर्वाधिक ७५ रन बनाएको नेपाली इनिङ्समा दीपेन्द्र सिंह ऐरीले ३२ तथा ज्ञानेन्द्र मल्ल र आरिफ शेखले २३-२३ रन जोडे।
अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। ओपनर अनिल शाह ७, रोहित कुमार पौडेल १, सोमपाल कामी ९ तथा करण केसी ६ रन बनाएर आउट हुँदा बसन्त रेग्मी ९ रनमा नटआउट रहे। सन्दीप लामिछाने र ललित राजवंशीले खाता खोल्न सकेनन्।
बलिङमा अफगानिस्तानका मोहमद नावीले सर्वाधिक ४, कप्तान रसिद खानले ३ र शापुर जद्रानले २ विकेट लिए।