काठमाडौंः कैलालीको घोडाघोडी नगरपालिका ५ मा २० वर्षीया राधा चौधरीमाथि बोक्सीको आरोपमा भएको कुटपटिको घटनाले संसदमा प्रवेश पाएको छ।
अाज बसेको संसदको पहिलो बैठकमा बोल्दै सांसदहरुले सभामुखमा निर्वाचित भएकोमा कृष्णबहादुर महरालार्इ बधाई तथा शुभकामना दिँदै कैलाली घटनाका पीडकलार्इ कारवाही गर्न सरकारका नाममा रुलिङ गर्न माग गरे ।
बैठकमा बोल्दै सांसद दुर्गा पौडेलले दोषीमाथि तत्काल कारवाही गर्न माग गरिन्। उनले घटनाको तत्काल छानविन गरि पीडितलार्इ न्याय दिलाउन समेत माग गरेकी थिइन्।
त्यस्तै माओवादी केन्द्रका सांसद वर्षमान पुनले कैलालीमा जनप्रतिनिधिसहित सयौँको उपस्थितिमा युवतीमाथि निर्मम यातना दिइएको भन्दै घटनाको निन्दा गरे। पुनले चौधरीमाथि मानवताविरुद्ध भएको यस्तो जघन्य अपराधको छानविन गरी तत्काल कारबाहीको माग गरे।
यस्तै सांसद प्रेम सुवालले कैलालीमा भएको घटनाबारे सरकारलाई रुलिङ गरेर घटनामा संलग्न दोषीलाई कारबाही गर्न सभामुखको ध्यानाकर्षण गराए।
फागुन २४ गते कैलालीको घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा ६ घन्टासम्म कुटपिट भएको थियो। घटनामा पीडक भनिएका स्थानीय झाँक्री रामबहादुर चौधरी पक्राउ परेका छन्। अन्य आरोपित फरार छन्।
घटनामा घोडाघोडी नगरपालिकाका मेयरको ममताप्रसाद चौधरी समेत मुछिएका छन्।
संसदको बैठकमा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभामुखमा निर्वाचित भएकोमा महरालाई कांग्रेसको तर्फबाट बधाई तथा शुभकामना दिए।
जनयुद्ध र शान्ति प्रक्रियाको अनुभव लिएका महराले संसदलाई सन्तुलित ढंगले चलाउने विश्वास उनले व्यक्त गरेका थिए।
सभामुख महरालाई एमालेबाट झलनाथ खनाल र राप्रपाका राजेन्द्र लिङ्देलले शुभकामना दिएका थिए। र, माओवादीबाट वर्षमान पुनले शुभकामना दिए ।
संसदको अर्को बैठक अाजै तीन बजे बस्ने छ। सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने कार्यक्रम रहेको छ।