काठमाडौँः सभामुख कृष्णबहादुर महराले संसद्मार्फत सबै समस्या समाधान गर्न सफल भए देशलाई आर्थिक समृद्धि, सुशासन र अमनचयन कायम गर्न सफलता मिल्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न राजनीतिक दलका नेता एवं सांसदबाट आफूलाई प्राप्त शुभकामनाको प्रत्युत्तरका क्रममा सभामुख महराले प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै संसद्लाई नै जनताको सर्वोच्च थलो बनाउन हरसम्भव प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले आफूलाई सभामुखमा निर्वाचित गर्न सहयोग पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत प्रतिनिधिसभाका सबै सदस्यलाई धन्यवाद दिए।
उनले विभिन्न राजनीतिक आन्दोलनमा शहादत प्राप्त गर्ने, घाइते, अपांगता भएका व्यक्ति तथा बेपत्ता नागरिकको पनि स्मरण गरे।
त्यसअघि सभामुख महरालाई सफल कार्यकालको शुभकामना दिँदै नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशको आर्थिक, सामाजिक र सांस्कृतिक उन्नतिका लागि सबै राजनीतिक दलको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिएका थिए।
उनले संविधान कार्यान्वयनमा नयाँ कानून चाहिने भएकाले त्यसमा सभामुख महराले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
पूर्वप्रधानमन्त्री खनालले भने, 'संसद्मा विभिन्न विचारधाराका दल रहेकाले सबसँग अन्तक्र्रिया गरी अगुवाइ गर्ने जिम्मेवारी सभामुखको काँधमा आएको छ।'
बैठकमा नेपाली काँगेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपालमा द्वन्द्वको अन्त्य भई समृद्धिको यात्रा शुरु भएकाले प्रतिपक्षका तर्फबाट सकारात्मक भूमिमा निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरे।
उनले भने, 'महरा राजनीतिक रुपमा परिपक्वसमेत हुनुभएकाले उहाँले सबैलाई समेटेर लैजान सफल हुने अपेक्षा गर्दछु ।'
ससद बैठकमा नेकपा (माओवादी केन्द्र)का वर्षमान पुन, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राजपा नेता सरदसिंह भण्डारी, राप्रपाका सांसद राजेन्द्र लिङ्देल, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले सरकारलाई संसद्प्रति जिम्मेवार बनाउन सभामुखको भूमिका महत्वपूर्ण हुने बताएका थिए। रासस