
काठमाडौं : नेपाली कांग्रेसका नेता विजय गच्छदारले प्रधान मन्त्रीको हनिमुन पिरियडलाई मूल्यांकन गर्दै प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताएका छन्।
प्रधान मन्त्री केपी शर्मा ओलीले संसदको बैठकमा विश्वासको मतका लागि राखेको प्रस्तावपछि संसदको बैठकमा सम्बोधन गर्दै नेता गच्छदारले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन्। ‘प्रधान मन्त्रीज्यूले गरेका प्रतिवद्धता हामी हनिमुन पिरियडमा हेर्छौँ,’ उनले भने, ‘१०० दिनसम्म हामी वाच डगका रुपमा रहन्छौं।’
उनले कांग्रेसले संसदीय पद्धतिलाई कमजोर हुन नदिनेसमेत बताए।
‘विकासका पुर्वधार निर्माणका लागि प्रतिवद्धता गर्नुभएको छ। यसमा म सकारात्मक छु,’ उनले भने, ‘समृद्धिको लागि सरकारले सारेका प्रतिवद्धतामा हामीले सहयोग गर्नेछौं।’
उनले सहमति सहितको सरकार गठन गर्ने प्रयास भएको भन्दै शुभकामनासमेत व्यक्त गरे।
‘प्रतिपक्षविनाको संसद हुँदैन्। संविधानको निर्माणमा नेतृत्वको गरेको नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ।’
‘मैले तपाईँहरुको संकल्पमा बुझेको छु,’ उनले प्रधान मन्त्री ओलीसँग काम गरेको भन्दै अगाडि भने, ‘अहिलेको लोकतन्त्रमाथि प्रहार गर्ने ठाउँ नराखियोस्, हामी प्रतिपक्षमा नै रहनेछौँ।’