म्याग्दीः म्याग्दीको रघुगंगा गाउँपालिकाको झीँ-पाखापानी सडकलाई दुई लेनको बनाउन आयोजना शुरु भएको छ।
रघुगंगा गाउँपालिकाले बेनी नगरपालिका-१० पात्लेखेतको सिमानादेखि वडा नं ५ झीँ हुँदै ६ नं वडा पाखापानी जोड्ने सडक फराकिलो बनाउन ७५ लाख रूपैयाँको लागतमा आयोजनाको काम शुरु गरेको हो।
झीँको सिमानादेखि पाखापानीको ठोकलाखोला सम्मको नौ किलोमिटर सडकलाई दश मिटर फराकिलो बनाउने, नाली, पर्खाल, सोलिङ र कजवे निर्माणका लागि दुई वटा प्याकेजमा छुट्टाछुट्टै आयोजना सञ्चालन गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
३५ लाख ४० हजार रूपैयाँको लागतमा झीँ खण्डको पाँच किलोमिटर र ४० लाख रूपैयाँको लागतमा पाखापानी खण्डको चार किलोमिटर १७५ मिटर सडक स्तरोन्नति गर्न उपभोक्ता समितिले काम तीव्र बनाएका छन्।
पहिलो चरणमा डोजर प्रयोग गरेर फराकिलो र नाली बनाइएको सडकमा उपभोक्ताले श्रमदान गरेर सोलिङ, कजवे, ग्यावियन र रिटेनिङ वाल लगाउने काम गरिरहेका झीँ खण्डको उपभोक्ता समितिका अध्यक्ष गोविन्द पाइजाले जानकारी दिए ।
उनका अनुसार साबिकका वडाका प्रत्येक घरधुरीलाई एक, एक दिनका लागि श्रमदानमा सहभागी बनाइएको छ। पाखापानीतर्फ झीँको सिमाना फुलडाँडादेखि झिगरुक, हुनचेन, पाखापानी, कमनाथ हुँदै ठोकलाखोला सम्मको सडक पहिलो चरणमा डोजर लगाएर फराकिलो र कुनातर्फ कच्ची नाली बनाउने काम सकिएको छ। रासस