
सुरुङ्गा, झापा : झापा गोल्डकपको तेस्रो संस्करणको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको। घरेलु मैदानमा झापा-११ लाई सडेनडेथमा पराजित गर्दै आर्मीले उपाधि हात परेको हो। आर्मीले झापालाई सडेन डेथमा ८–७ गोल अन्तरले पराजित गरेको थियो।
उपाधिसँगै त्रिभुवन आर्मीले १२ लाख ५१ हजार नगद, ट्रफी र प्रमाणपत्र हात परेको छ। उपविजेता झापा ११ ले छ लाख नगदसहित ट्रफी हात परेको छ।
पहिलो हाफ गोलरहित बराबरी रहे पनि दोस्रो हाफमा भने दुवै टोलीले एक-एक गोल गरेका थिए। खेलको ५९औं मिनेटमा पेनाल्टी बक्सभित्रबाट कर्ण लिम्बूले गरेको प्रहार गोलमा परिणत भएपछि घरेलु टोली झापाले अग्रता लिएको थियो। त्यस्तै खेलको ७९औँ मिनेटमा आर्मीका तर्फबाट भरत खवासले गोल फर्काउँदै खेल बराबर पारेका थिए। दिनेश हेम्जनको कर्नरमा भरतले गोल गरेका थिए।
निर्धारित समयमा अन्य गोल हुन नसकेपछि १५ मिनेट अतिरिक्त समय थप भएको थियो। थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइवेकरमा पुगेको थियो।
टाइवेकरमा पनि ३–३ को बराबरी भएपछि खेलको निर्णय सडन डेथमा पुगेको थियो। दुवै टोलीले १०–१० पेनाल्टी प्रहार गर्दा आर्मीले सडन डेथमा ८–७ ले बाजी मारेको हो। झापाका गोल रक्षक किशोर गिरी दशौं पेनाल्टीमा चुक्दा झापा पराजित भएको थियो।
प्रतियोगितामा झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएबल प्लेयर बनेका छन् । उनले यामाहा कम्पनिको एउटा मोटरसाइकल प्राप्त गरे। त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेनडर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र बेष्ट कोच आर्मीका चुनबहादुर थापा घोषित भए। उनीहरूले ३१ हजार नगद प्राप्त गरे। त्यस्तै झापाका कर्ण लिम्बु हाइएष्ट स्कोरर हुँदै रु ५१ हजार प्राप्त गरे। उनले प्रतियोगिताभर तीन गोल गरेका थिए।
प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरे।