
काठमाडौं : प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध न्यायाधीश चोलेन्द्रशम्शेर जवराले हिजो गरेको विद्रोहको असर आजको बेन्चमा परेको छ। जवराको विद्रोहपछि अरु न्यायाधीशहरुले प्रधान न्यायाधीश पराजुलीलाई विदामा बस्न दिएको सुझाव लत्याउँदै उनले दैनिक पेशी तोकेका थिए। न्यायाधीश चोलेन्द्रशम्शेर जवरा इतर इजलास तोके पनि सबै न्यायाधीश मुद्दा हेर्न तयार भएनन्। हिजोबाट सुरु भएको प्रधान न्यायाधीश पराजुलीविरुद्ध न्यायाधीशहरुको 'विद्रोह'ले थप गति लिएको छ।
प्रधान न्यायाधीशविरुद्ध कुनै अभिव्यक्ति नदिए पनि, न्यायाधीशहरु हरिकृष्ण कार्की, सपना प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई, अनिलकुमार सिन्हाले प्रधान न्यायाधीशको निर्देशन टेरेनन्। उनीहरुलाई तोकिएको मुद्दामा कुनै कारबाही प्रकृया नै अगाडि बढेन।
न्यायाधीशद्वय दीपकराज जोशी र प्रकाशमान सिंह राउतको इजलासमा ३१ वटा पेशी तोकिएको भए पनि मुद्दा हेरिएन। पूर्व निर्धारित कार्यक्रममा न्यायधीश जोशी सर्वोच्च अदालतभन्दा बाहिर गएकाले पेशी तोकिए पनि सुनुवाईको कुनै प्रकृया अगाडि नबढेको हो। यद्यपि जोशीले पनि पराजुलीलाई 'बाटो क्लियर' गर्न सुझाव दिएका थिए।
प्रधान न्यायाधीश गोपाल पराजुली र तेजबहादुर केसीको बेन्चले आज २९ मुद्दा फैसला सुनायो।
न्यायाधीश चोलेन्द्र शमशेर जवराले प्रधान न्यायाधीश पराजुलीले गत साउन २१ मै अवकाश पाइसकेको भन्दै राय व्यक्त गरेको भोलिपल्ट उनलाई इजलास तोकिएन।
जवराको रायपछि सोमबार अधिकांश न्यायाधीशले प्रधानन्यायाधीश पराजुलीलाई विदामा बस्न सुझाव दिएका थिए।
आज पूर्ण बाहेक दश इजलास गठन गरिएका छ। पराजुलीले आफूसँग न्यायाधीश तेजबहादुर केसीलाई इजलासमा राखेका छन्।
सुनुवाइ जारी रहेको डा गोविन्द केसी र कान्तिपुर पव्लिकेशनविरुद्धको अपहेलना मुद्दाको बाँकी प्रक्रिया भने अन्योलमा परेको छ। सर्वोच्चले यसअघि नियमित सुनुवाइ जारी राखेको उक्त मुद्दा पेशी चढाएको छैन।
आज इजलास 'बहिस्कार' गरेर न्यायाधीशहरु प्रस्टरुपमा विभाजित भए। यसले सर्वोच्च अदालतमा कायम रहेको संकट थप गहिरिने संकेत गरेको छ।