
काठमाडौं : जुलाई १ देखि ८ सम्म स्पेनको सान सेवेस्टानमा हुने दशौँ डोनोस्टी कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट २०१८ मा नेपालबाट पनि सहभागिता हुने भएको छ। आयोजकको निमन्त्रणामा नेपालको स्कलर्स होम एकेडेमीको फुटबल टिमले उक्त टुर्नामेन्टमा सहभागिता जनाउने एकेडेमीका प्रिन्सिपल हरि नारायण उपाध्यायले जानकारी दिए।
उपाध्यायका अनुसार एकेडेमीको यू-१४ टिमले नेपालबाट प्रतिनिधित्व गर्नेछ।
यस संस्करणको डोनोस्टी कपमा विश्वका ५७ देशका ५ सय फुटबल टिमहरुले भाग लिने उपाध्यायले बताए।
अनुज पौडेलले कफ्तानीमा रहेको १८ सदस्यीय फुटबल टोली र दुई प्रशिक्षक सहितको नेपाली टोली जुन ३० मा स्पेन प्रस्थान गर्नेछन्। यसअघि फ्रेण्ड्स क्लबबाट फुटबल खेलिसकेका भरत लामा टिमको प्रशिक्षकको रुपमा जानेछन्।
इन्टरनेशनल स्तरको टुर्नामेन्टमा सहभागिता जनाउन पाउनु खुशी विषय भएको बताउँदै एकेडेमीका प्रिन्सिपल उपाध्यायले भने, 'यसले नेपाली खेलकुदको साथै फुटबलको विकासमा समेत सहयोग पुर्याउने विश्वास छ। साथै हाम्रा खेलाडीले इन्टरनेशनल स्तरमा खेल्न पाउनेछन्। अन्य राष्ट्रको खेलाडीसँग विचार, भावना, संस्कृति आदानप्रदान गर्न पाउनेछन्।'
नेपाली टोलीको आउने जाने प्लाई टिकेट लगायत सम्पूर्ण खर्च आयोजकले नै बेहोर्ने उपाध्यायले बताए। टुर्नामेन्टका लागि टिमले दैनिक रुपमा प्रशिक्षण गरिरहेको प्रशिक्षक लामाले जानकारी दिए।
यस्तै टुर्नामेन्ट खेल्ने टोलीबाहेक अन्य ५ जना गरिब विद्यार्थीलाई नेपालबाट कुनै कम्पनीले स्पोनसर गरेमा उनीहरुलाई पनि आयोजकले स्पेन लैजाने उपाध्यायले जानकारी दिए।
डोनोस्टी कप मा १० देखि १८ वर्ष सम्मका महिला तथा पुरुषको छुट्टा-छुट्टै टिमले प्रतिस्पर्धा गर्नेछन्।