काठमाडौं : राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदान कार्यक्रम सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा मतदानको कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
मतदानमा ३ सय २६ जना संघीय संसदका सदस्य र ५ सय ३६ जना प्रदेश सभाका सदस्य गरी कूल जम्मा ८ सय ६२ जनाले मतदानमा भाग लिए।राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) का ३ सय ३१ र प्रदेश सभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता छन्।
मतगणना कार्य ४ः०० बजेदेखि शुरु हुने गरी आयोगले जनाएको छ।
को को अनुपस्थित
कूल १३ जना प्रदेशसभा सदस्य मतदान प्रक्रियामा अनुपस्थित भएका थिए। मतदान प्रक्रियामा अनुपस्थित हुने नयाँ शक्ति, विवेकशील साझा पार्टी र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर चौधरी, धनमाया लामा पोखरेल, प्रल्हाद गिरी, प्रेम तामाङ, विराजभक्त श्रेष्ठ, मनिषकुमार सुमन, रमेश पौडेल, दिन पन्त, शोभा शाक्य, सुरेन्द्र गोसाई, हरिशरण आचार्य, हिमबहादुर शाही र सिर्जना सैँजुसहभागी भएनन्।
त्यसैगरी प्रतिनिधि सभाका डा बाबुराम भट्टराई, जितेन्द्रनारायण देव, प्रेम सुवाल, रमेश यादव र रेशमलाल चौधरी अनुपस्थित रहे।
(यसअघि १८ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको।-सम्पादक)
