काठमाडौँः नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले अहिलेसम्म पनि नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएका छैनन्।
सरकारले ग्यास उद्योगलाई अनिवार्य रुपमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न लिएर सञ्चालन गर्न आग्रह गरे पनि उक्त कम्पनीले अटेर गरेका हुन्। नेपाल गुणस्तर तथा नापतौल विभागले पुसमा नेपाल गुणस्तर प्रमाणपत्र चिह्न नलिएका ग्यास उद्योगमाथि कारबाही चलाएपछि दुई महिनाभित्र लिने भनेपनि अहिलेसम्म लिएका छैनन्।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिने संख्यामा बढेको बताए।
“कारबाही अभियान सञ्चालन गरेपछि तीन ग्यास उद्योगले प्रमाणपत्र चिह्न लिएका छन्, २० वटा कम्पनी लिने चरणमा छन्,” उनले भने।
सम्पूर्ण ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मगाइरहेको उनको भनाइ छ।
नेपालमा रहेका ५५ ग्यास उद्योगमध्ये हालसम्म मनोज ग्यास उद्योग वीरगञ्ज, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग धादिङ, नेपाल ग्यास उद्योग बालाजु, जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जले नेपाल गुणस्तर चिह्न लिएका छन्।
गुणस्तर प्रमाणपत्र नलिई सञ्चालन गरेको व्यापक जनगुनासो आएपछि विभागले यही पुसमा विभिन्न ठाउँका १० उद्योगको अनुगमन गरेको थियो। ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न नियमावलीको अनुसूची–२ अनुसार आवश्यक कागजात र प्रक्रिया पूरा गरेपछि मात्र विभागले गुणस्तर प्रमाणपत्र दिने गरेको छ। रासस