
कास्कीः पोखरा लेखनाथ महानगरपालिकाले महानगर भित्र मापदण्ड मिचेर बनाएका संरचनाहरु भत्काउने अभियान थालेको छ।
जनप्रतिनिधिहरु निर्वाचित भएर कार्यभार सम्हालेको लामो समय वितिसक्दा पनि महानगर भित्रका सार्वजनिक ठाउँमा अतिक्रमण नरोकिएको भन्दै स्थानीयले विरोध सुरु गरेपछि महानगरले डोजर चलाउन थालेको हो।
महानगरले मंगलबार भिमकाली पाटन तमु समाजको पर्खाल डोजर लगाएर भत्काएको छ। महानगरपालिकाले मंगलबार भिमकालीपाटन बगर स्थित सार्वजनिक जग्गा मिचेर स्थानिय भिमकाली पाटन तमु समाजले लगाएको पर्खाल महानगरपालिकाले भत्काएको हो।
सार्वजनिक बाटो मिचेर समाजले भवनको गेट र सार्वजनिक नहरको मापदण्ड विपरित पर्खाल लगाइएको पाइएपछि मपदण्ड विपरितको संरचना भत्काइएको महानगरका नगर प्रहरी प्रमुख बसन्त चालिसेले जानकारी दिए।
‘सार्वजनिक स्थानको मापदण्ड मिचेर पर्खाल लगाएको स्थानियको उजुरीको आधारमा डोजर लगाएर भत्काएका हौं,’ उनले भने ‘मापदण्ड विपरित निर्माण गरिएका यस्ता संरचना महानगरले जुनसुकै हालतमा हटाउँछ।’
तमु समाजले सार्वजनिक बाटो तथा नहर कुलोको मापदण्ड मिचेर पर्खाल लगाएको भन्दै स्थानिय सुभद्रा पौडेलले महानगरमा उजुरी दिएकी थिइन्।
नियमविपरित बनेको संरचना आफै हटाएर कार्यालयमा सम्पर्क गर्न पत्राचार गरिए पनि समाजले अटेर गरेपछि महानगर प्रमुख मानबहादुर जिसीले उक्त संरचना भत्काउन निरिक्षण शाखालाई निर्देशन दिएका थिए।
स्थानिय सुभद्रा पौडेलले आफ्नो ५ आना जग्गाको निकास बन्द गर्ने गरीसमाजले पर्खाल लगाई दिएपछि उजुरी दिएको बताइन्।
‘घर बनाउन दुई पटकसम्म जग हाले तर, बाटो अबरोध गर्दैै घर नबनाउन चेतावनी दिए’ उनले भनिन् ‘उनीहरुकै अबरोधकै कारण घर बनाउन पाइन।’
मापदण्ड विपरितको संरचना भत्काउन वडा नं. १ का पादाधिकारी, वडा प्रहरी कार्यालय बगरका सुरक्षाकर्मी तथा नगरप्रहरी परिचालन गरिएको थियो।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले महानगर क्षेत्र भित्र मापदण्ड विपरित निमार्ण भएका भौतिक संरचना भत्काउने अभियानलाई तिव्र पार्न मातहतका निकायलाई निर्देशन दिएको प्रमुख जिसीका सहयोगि लक्ष्मण तिमिल्सिनाले बताए।