PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

उप राष्ट्रपतिको निर्वाचन चैत ९ मा, पुरुष र गैर खस-आर्य समूदायको मात्र मनोनयन हुने



पहिलोपोस्ट

उप राष्ट्रपतिको निर्वाचन चैत ९ मा, पुरुष र गैर खस-आर्य समूदायको मात्र मनोनयन हुने

काठमाडौं : निर्वाचन आयोगले उप राष्ट्रपतिको चुनाव आगामी चैत्र ९ गते हुने गरी मिति तय गरेको छ। आज प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षता बसेको बैठकले मिति तय गरेको हो।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोक्ने व्यवस्था छ। 

संवैधानिक व्यवस्थाअनुसार उप राष्ट्रपतिमा अब पुरुष नै हुनेछन्। संविधानको धारा ७० तथा राष्ट्रपति तथा उप राष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐनमा राष्ट्रपति पदमा निर्वाचित व्यक्तिभन्दा फरक लिंग र समुदायको व्यक्तिलाई मनोनित गर्नुपर्ने व्यवस्था छ। 

हिजोमात्र सम्पन्न निर्वाचनमा खस आर्य र महिला उम्मेदवार विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। उप राष्ट्रपतिमा अब पुरुष र गैर खस आर्य समुदायका व्यक्तिमात्र उम्मेदवार हुन पाउँछन्। 

आज प्रकाशित निर्वाचन कार्यक्रम अनुसार चैत्र १ गते मतदाता नामावली प्रकाशन, चैत्र ३ गते उम्मेदवारी दर्ता तथा चैत्र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। चैत्र ९ गते शुक्रबार विहान १० वजे देखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell