
काठमाडौँः नेपालका लागि अमेरिकी राजदुत अलाइना बी टेप्लिजले नेपालले लिँदै आएको प्रवेशाज्ञा शूल्क पुनरावलोकनका लागि आग्रह गरेकी छिन्।
बिहीबार गृहमन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा(बादल)सँग शिष्टाचार भेट गर्दै उनले यस्तो आग्रह गरेकी हुन्।
राजदुत टेप्लिजले नेपालको अध्यागमन सुरक्षाका क्षेत्रमा अमेरीकी सरकारले सहयोग गर्न चाहेको बताउँदै अमेरीकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न आग्रह गरेकी हुन्।
भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको थियो । गृहमन्त्री थापाले राजदुतसँग अध्यागमन सुरक्षा र प्रवेशाज्ञा शूल्का विषयमा अध्ययन गरिरहेको भन्दै सो विषयमा आवश्यक निर्णय लिइने जानकारी गराएका थिए।
भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरीकाबीच ७० वर्षअघिदेखि कुटनीतिक सम्बन्ध रहीआएको बताउँदै यो अवधीमा दुईदेशका बिचको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताए।
उनले नेपालको विकास तथा सुरक्षा निकायको तालिम र भौतिक संरचना निर्माण लगायतकका क्षेत्रमा अमेरीकाले गर्दै आएको सहयोगप्रति राजदुत टेप्लिजलाई धन्यवाद दिएका थिए।
अमेरीकी राजदुत टेप्लिजले गृहमन्त्री थापालाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना दिएकी थिइन्।
राजदुतले मानव तस्करी नियन्त्रण, भुटानी शरणार्थी, तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि चासो राखेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।